धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका चुनावका लागि मतपत्र कडा कागजमा छापिएकाले राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गर्नुभएकाे छ । आज शुक्रवार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतमा भएका गल्तीका कारण आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरू लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयाे, ‘लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरू यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यस कारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस् । यो अनुरोध हो । छाप्दै त्यसै गरी छापेको हो । यो कुरा बुझिदिनुभयो भने आउँदा दिनमा यस्ता प्रश्न उठ्दैनन् ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनाव सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयाे । संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले पालिका चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
उहाँले विभिन्न राजनीतिक दलका नेताले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने बताउनुभयो । उहाँले लोकतन्त्रलाई विश्वास गरेर चुनावमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले समानुपातिक समावेशिता सिद्धान्त र ऐन, कानुनलाई बिर्सिएर पालिकामा उम्मेदवारी मनोनयन दर्ता गरेको पनि बताउनुभयो । उहाँले आयोगले विभिन्न राजनीतिक दललाई संविधानको धारा ३८ को उपधारा ४ बमोजिम चुनावकाे प्रक्रियामा महिलाको ५० प्रतिशत सहभागिताको कुरालाई बिर्सिएको बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले यस वर्ष आचारसंहिता बनाउँदा पहिलो पटक सामाजिक सञ्जालको नियमन उठाएको र अहिलेसम्मको अध्ययनले समाजिक सञ्जालबाट झनै विकृति सिर्जना भएको पाएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा चुनावसम्बन्धी भइरहेका असामाजिक कृत्यलाई निरुत्साहित गर्न आयोगको अनुरोधअनुसार आयोगको युट्युब वा सामाजिक सञ्जालमार्फत आयोगलाई सूचना दिन पनि पर्यवेक्षकहरूलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितका लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आयोगलाई सुझाव दिनुभयो । अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको समयमा निर्वाचन परीवेक्षण गर्न जरुरी रहेकोले आयोगले त्यसमा जोड दिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।