चितवनमा प्रधानमन्त्री देउवा निजी गाडीमा

 वैशाख २१, २०७९ बुधबार २०:१३:३ | रासस
unn.prixa.net

चितवन – प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेसँगै निजी गाडीमा चढ्नुभएकाे छ । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आउनुभएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीवार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा ३ च २०४० नम्बरकाे गाडीमा देउवा होटल पुग्नुभएको हो । श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहनुभएका देउवा झण्डाविना आफ्नो गाडीमा चढ्नुभएकाे बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ ।’

श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नु हुनेछ । उहाँले थप्नुभयो, ‘सबै खर्च पार्टीले गर्नेछ ।’ सभापति देउवा र उहाँको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुनुहुन्छ । पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आउनुभएको हो । उहाँका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार याे जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।’

जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा आउनुभएको हो । उहाँसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज आउनुभएको छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेत्री रेनु दाहाल मेयर पदमा उम्मेदवार हुनुहुन्छ । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बन्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया