पालिका चुनावका लागि तयारी तीव्र : प्रदेश र जिल्ला तहमा काम अन्तिम चरणमा

 वैशाख २४, २०७९ शनिबार ६:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । पालिकाको चुनावका लागि आवश्यक मतपत्र ढुवानीको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।

७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले मतपत्र छपाइ भएको ठाउँ भक्तपुरको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि मतपत्र ढुवानी गरी सुरक्षा प्रबन्धका साथ पठाएको हो ।

सडकमार्ग सहज नभएका जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराएर चाँडै स्थानीय केन्द्रमा ढुवानी गर्ने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । ती कार्यालयका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएको छ । कार्यालयहरूले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी अन्तिम चरणमा पुर्याएको जनाएका छन् ।

निर्वाचन सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमुना मतदानको तयारीलगायतका काम भइरहेका छन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् ।

प्रदेश निर्वाचन कार्यालय रहेका ठाउँमा जिल्ला निर्वाचन कार्यालय राखिएको छैन। 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया