मौन अवधि सुरु : के के गर्न हुँदैन ?

 वैशाख २८, २०७९ बुधबार ६:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्सि शुक्रबार हुने पालिका चुनावका लागि गएरातिदेखि सुरु हुने मौन अवधि सुरु भएको छ । अब मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् । यस अवधिको अनुगमन कामलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ ।

निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाईंदैन । यस अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।

यस अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । चुनावको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ ।

यो अवधि मतदानको समयभन्दा ४८ घण्टा अगाडिअर्थात् हिजो मङ्गलबार राति १२ बजेदेखि सुरु भएको हो । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यसबमोजिम आचरण पालन गरिदिन आयोगले सबैसँग आग्रह गरेको छ ।

आयोगकाअनुसार मतदानलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पूरा भइसकेका छन् । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न मतदातालाई अपिल गर्दै त्यसका लागि साथ दिन सञ्चारमाध्यम, नागरिक समाज र सबैमा आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया