भारतमा गर्मीले जनजीवन अस्तव्यस्त, एसी मेशिन बिक्रीमा नयाँ रेकर्ड

 जेठ ४, २०७९ बुधबार १४:२९:५ | एजेन्सी
unn.prixa.net

भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयाैँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ । 

मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद, बेङ्ग्लोर, कोलकाता लगायतका सहरको जनजीवन गर्मीले अस्तव्यस्त बनाएको छ । ठाउँ–ठाउँमा सडकको कालोपत्रे नै पग्लिएको र चराहरू मर्न थालेका खबरमा उल्लेख छ । बढ्दो गर्मीसँगै खानेपानीको अभाव हुँदा रेलले टाढा टाढाबाट पानी बोकेर माग पूरा गरिरहेका छन् । तातो हावाका कारण मानिसहरू घरबाहिर निस्कन मुस्किल परिरहेको छ । 

भारतले विभिन्न सहरमा गएको अप्रिल महिनामा एक शताब्दीयताकै उच्च गर्मी भएका रेकर्ड सङ्कलन गरेको छ । 

यसैबीच बढ्दो गर्मीका कारण भारतमा वातानुकूलित उपकरण अर्थात् एसी मेशिनको बिक्रीमा रेकर्ड बनेको खबरमा उल्लेख छ । दिल्लीको तापक्रम ४९ डिग्री सेल्यिल्ससम्म पुगेको र यो सिजनमा मात्रै ९० लाख एसी मेशिन बिक्री हुने अनुमान गरिएको उपभोक्ता इलेक्ट्रिक्स उपकरण निर्माता सङ्घले जनाएको छ ।

यसअघि सन् २०१९ मा सबैभन्दा धेरै ६५ लाख एसी मेशिन बिक्री भएका थिए । यो वर्ष अप्रिलको साटो मार्चको दोस्रो हप्तादेखि नै अत्यधिक गर्मी सुरु भएकाले एसी मेशिनको माग धान्न गाह्रो भइरहेको चीनको हायर कम्पनीका भारत प्रमुख एरिक ब्रागान्जाले बताउनुभएको छ । 

कोरोना महामारीका कारण चीनबाट पर्याप्त उपकरण नआउँदा माग धान्न मुस्किल भएको भारतीय कम्पनीहरूले जनाएका छन् । अर्डर गरेपछि चीनबाट उपकरण आइपुग्न ४५ दिनसम्म लाग्ने गरेको र यसले माग धान्न समस्या भएको उनीहरूको भनाइ छ । भारतमा खपत हुने एसी मेशिनहरूमध्ये २० प्रतिशत चीनबाट आयात हुने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया