सुगाैली सन्धि पछि नेपालले उल्टाे ५ गुणा बढी आयात गर्न थाल्याे : भट्टराई

 जेठ ४, २०७९ बुधबार १७:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताउनुभएको छ । 

आज बुधवार प्रतिनिधि सभा बैठकमा आउँदाे आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले नेपालले भारतसँग सुगाैली सन्धि पछि देश परनिर्भतामा गएकाले विगतमा भारतसँग भएका व्यापार सन्धिहरू पुनरावलोकन हुनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । 

भट्टराईले भन्नुभयाे, भारत र नेपालबीचको असमान व्यापार सम्बन्ध तत्काल सच्याउनुपर्ने भएको छ । सुगाैली सन्धि भन्दा पहिले नेपालबाट भारतमा पाँच गुणा बढी निर्यात हुन्थ्याे तर त्याे सन्धिपछि नेपालले उल्टो पाँच गुणा बढी आयात गर्न लागेको छ । अहिले भारतबाट नेपालले निर्यातभन्दा १५ गुणा बढी आयात गर्ने गरेकाे छ ।’

उहाँले गतिहीनता र वैदेशिक परनिर्भरता नै नेपाली अर्थतन्त्र पछाडि पर्नुको मुख्य कारण रहेको बताउनुभयो । उहाँले आउँदाे वर्षको बजेटमा सरकारले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा बल पुग्ने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो । 

भट्टराईले नेपाल अझै गरिबीकाे रेखामुनि रहेको बताउनुभयो । अहिले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्न नमिल्ने उहाँकाे भनाइ छ । नेपालकाे अर्थतन्त्र पुँजीवादमा नै निर्माण गर्न नसकेको अवस्थामा समाजवादमा तत्काल पुग्न नसकिने भट्टराईको भनाइ छ । सरकारले अब पालिकामा ७० प्रतिशत बजेट पठाउनुपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया