श्रीलङ्कामा मन्त्रिमण्डल विस्तार, अर्थमन्त्रीको अझै टुङ्गो लागेन

 जेठ ६, २०७९ शुक्रबार १७:३६:३६ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काली राष्ट्रपति राजपाक्षे, तस्बिर : एजेन्सी

आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदलीय सरकार’ ले आज शुक्रवार मन्त्रिमण्डल विस्तार गरेको छ । पछिल्लो मन्त्रिमण्डलमा अर्थमन्त्रीबाहेक नौ मन्त्रीलाई नियुक्त गरिएको छ । 

राष्ट्रपति गोटबाया राजपाक्षेका जेठा दाइ महिन्दा राजपाक्षले श्रीलङ्काको अर्थतन्त्रलाई सङ्कटको सङ्घारसम्म पुर्‍याएकाे आरोप लागेको छ । उहाँको प्रशासनलाई दोषी ठहर्‍याएपछि प्रधानमन्त्री रनिल विक्रेमासिङ्घेले यस महिनाको सुरुमा प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएको छ । 

विक्रमासिङ्घेले अघिल्लो मन्त्रिमण्डल विघटन भएपछि गठबन्धन सरकार बनाउने प्रतिबद्धता जनाउँदै नेतृत्व सम्हाल्नुभएको थियो ।

कोलम्बोमा उहाँको कडा सुरक्षा रहेको सरकारी निवासमा राष्ट्रपति गोटबाया राजपाक्षे सामु स्वास्थ्य, शिक्षा र न्यायका लागि नयाँ मन्त्रीहरूलाई शपथ खुवाइएको सरकारले जानकारी गराएको छ । 

मुख्य विपक्षी ‘समागी जन वालवेगया (एसजेबी) पार्टी’ का दुई विधायकले नयाँ सरकारमा सामेल हुँन आफ्नो दलबाट राजीनामा दिएका छन् । 

अर्को विपक्षी दल ‘श्रीलङ्का फ्रिडम पार्टी’ ले राष्ट्रपति राजपाक्षेलाई समर्थन गर्न सहमति जनाएको छ र उसलाई नयाँ मन्त्रिमण्डलमा सामेल गरिएको छ । 

कर्जाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग प्रमुख वार्ताका लागि जिम्मेवारीसहित आउने अपेक्षा गरिएको अर्थमन्त्रीको जिम्मेवारी भने नयाँ मन्त्रिमण्डल विस्तार हुँदा पनि खाली राखिएको छ । प्रधानमन्त्रीको कार्यालयले एएफपीलाई जानकारी गराएअनुसार त्यस जिम्मेवारीका लागि अर्को हप्तासम्म लाग्नेछ ।

अर्थमन्त्रीको नियुक्तिमा ढिलाइ हुँदा आईएमएफसँग वार्ताका लागि बाधा पुग्न सक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले हिजाे बिहीवार चेतावनी दिनुभएको थियाे । 

खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक आयातलाई समेत धान्न नसक्ने अवस्थामा रहेको श्रीलङ्का सरकारले विदेशी मुद्राको अत्यधिक अभाव झेलिरहेको छ ।

दुई करोड २० लाख जनसङ्ख्या भएको यस एसयाली देशले महिनौँदेखि गम्भीर आर्थिक कठिनाइ भोग्दै आएको छ । 

उपभोक्ताले पेट्रोल, डिजल र खाना पकाउने ग्यास पाउन सकेका छैनन् भने चामल पिठोजस्ता आधारभूत खाद्यान्नजस्ता सामानसमेतको अभाव झेलिरहेका छन् । यस देशमा लामो समयदेखि मुद्रास्फीति र दैनिकरूपमा आवश्यक बिजुलीको पनि अभाव हुँदा घण्टौँ लामो लोडशेडिङ पनि भइरहेको छ ।

पेट्रोल अभावले देशभर यातायात सेवामा समस्या भएकाले सरकारले साप्ताहिक विदाबाहेक शुक्रवार पनि कार्यालय र विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अधिकारीहरूले भने सरकारले यस हप्ता कोलम्बो बन्दरगाहमा आइपुगेको पेट्रोल ढुवानीका लागि आवश्यक पाँच करोड ३० लाख अमेरिकी डलर जुटाएको दाबी गरेका छन् । सप्ताहन्तमा खुद्रा रूपमा आधारभूत सामानहरूको आपूर्ति गर्न (पम्पिङ स्टेशनहरू) खोल्न सकिने बताइएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकले बिहीवार देशकाे ५१ अर्ब डलरको बाह्य कर्जा पुनर्संरचना ग्यारेन्टी नभएसम्म कम्तीमा अर्को ६ महिनाका लागि वैदेशिक ऋण चुक्ता गर्न नपाउने घोषणा गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया