धनगढीको गेटामा यसै वर्षदेखि ३ सय बेडकाे अस्पताल सञ्चालनमा आउने

 जेठ १४, २०७९ शनिबार १३:२९:१५ | रासस
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा तीन सय बेडको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्‍याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्नुभएको थियो ।

गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक वर्षमा तीन सय बेडको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसक्नुभएको छ । प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि सुरु हुन लागेको हो । 

नेपाली कांग्रेसका नेत्री एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो ।

यस कार्ययोजनाकै आधारमा तत्काल तीन सय बेडको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । “हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि तीन सय बेडको अस्पताल सञ्चालन हुने भएको हो”, डा जोशीले भन्नुभयो ।

मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा तीन सय बेडको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो ।

त्यस समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल,  पानीलगायतको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो । सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो । 

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो । भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल सञ्चालन गर्न नेत्री राणा विगत एक वर्षदेखि पहल गर्दै आउनुभएको छ ।

डा राणाकै पहलमा यसै आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनका लागि माग भएअनुसारको रु दुई अर्ब बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ । गेटा मेडिकल कलेज सञ्चालनमा डा देउवाले पटकपटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल तीन सय बेडको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

कम्तीमा तीन सय बेड रहनेगरी तत्काल अस्पताल सञ्चालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव छलफल भई स्वीकृत गरी सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गर्नुभएको थियो । सरकारले गेटा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहका चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना पनि गरेको छ । त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ ।

पालिका तह चुनावका कारण कार्यकारी निर्देशक नियुक्तलगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ति गरेर अस्पताल सञ्चालन हुने बताइएको छ । “यसै आर्थिक वर्षदेखि गेटा मेडिकल कलेज र तीन सय बेडको अस्पताल सञ्चालनमा आउँछ”, स्वास्थ्य सचिव डा पोखरेलले भन्नुभयो । गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० वर्षदेखि सुरु भएको थियो ।

भौतिक पूर्वाधार सम्पन्न भएपछि डा देउवाको अगुवाइमा अस्पताल सञ्चालन हुन लागेको हो । प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीतिअनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो । गेटा सुरु भएलगत्तै सुदूरपश्चिम क्षेत्रका सयौँले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एक महत्वपूर्ण काम हुने बताइएको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया