उत्पादन बढाउने, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हाे र ? : अर्थमन्त्री शर्मा

 जेठ १६, २०७९ सोमबार १८:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताउनुभएको छ । 

आज सोमवार बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलब वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले चार वर्षअघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनी प्रश्नसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यो बजेटमा कतै पनि चुनावकाे कुरा छैन । हिजो दिइरहेको कुरा निरन्तर गरिएको हो । अलिकति तलमाथि गरेको बाहेक के चुनावी गरिएको छ र ? उत्पादन वृद्धि गर्ने कुरा चुनावी कुरा हो र ? आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा चुनावी कुरा हो र ? कर्मचारीकाे तलब बढाउने कुरा पनि ऐनमै व्यवस्था गरिएकाे छ । युवाहरूलाई तालिम दिनुपर्छ भन्ने कुरा चुनावको कुरा हुँदैन । किसानलाई पेन्सन दिने कुरा पनि चुनावी कुरा होइन ।’

अर्थमन्त्री शर्माले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको पनि बताउनुभयो । उहाँले आउँदाे आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्ने, गरिबीको अन्त्य गर्ने, स्रोत–साधनको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताउनुभयो । 

अर्थमन्त्री शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको पनि बताउनुभयो । उहाँले अर्थ मन्त्रालयमा प्रयोग गरिएको स्यानिटाइजर समेत विदेशी भएको पाइएपछि आफूहरूले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको उल्लेख गर्नुभयाे । 

अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट पूर्णरूफमा कार्यान्वयन हुने दाबीसमेत गर्नुभयो । उहाँले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरू छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो पूर्ण छ । उत्कृष्ट छ ? होइन । राम्रो गरौँ भनेर कोसिस गरिएको छ । कुनै क्षेत्र छुटेको होला । ध्यान नपुग्दो रहेछ । हामीलाई के विश्वास छ भने यसलाई कार्यान्वयन पनि गर्न सक्छौँ ।’

अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सिर्जना गर्ने कामलाई प्राथमिकता दिएको पनि स्मरण गराउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया