आज रातिदेखि कालीगण्डकीकाे बिजुली भारतलाई बेच्न थालिने

 जेठ २१, २०७९ शनिबार २०:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी 'ए' विद्युत् गृहबाट उत्पादित बिजुली भारत निर्यात सुरु हुने भएको छ । प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित बिजुली आज शनिवार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा बिहीवारदेखि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा झन्डै ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७ दशमलव ७ मेगावाट बिजुली भारत निर्यात गर्ने छ । कालीगण्डकी 'ए' को १४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट बिजुली भारत निर्यात हुने छ ।

वर्षायामसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत् गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बाँकी भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार रातिदेशि निर्यात हुने बिजुलीकाे औसत बिक्री मूल्य प्रतियुनिट ११ रुपैयाँ दुई रुपैयाँ (७ भारु) रहेको बताउनुभयो । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम दुई रुपैयाँ ३८ पैसा (१ दशमलव ४९ भारु) र औसत दर ११ रुपैयाँ दुई पैसा (७ भारु) छ’, घिसिङले भन्नुभयो ।

आईईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुलीकाे कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

प्राधिकरणका अनुसार बिहीवार निर्यात गरिएको बिजलीकाे  अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९ रुपैयाँ दुई पैसा) र दुई दशमलव ४९ भारु (तीन रुपैयाँ ९८ पैसा) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६ दशमलव ७२ (१० रुपैयाँ ७६ पैसा) छ ।

यसैगरी शनिवार प्रधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९ रुपैयाँ दुई पैसा (१२ भारु) र न्यूनतम चार रुपैयाँ आठ पैसा (२ दशमलव ५५ भारु) मा बिजुली बिक्री गरेको छ । औसतमा मूल्य ११ रुपैयाँ ४८ पैसा (७.१८ भारु) रहेको छ ।  

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म बिजुली बिक्री गर्न अनुमति पाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया