कालीगण्डकीको बिजुली पनि भारतमा निर्यात सुरु : औसत प्रतियुनिट झन्डै साढे ११ रुपैयाँमा बिक्री

 जेठ २२, २०७९ आइतबार ६:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी 'ए' विद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यात सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् गएराति १२ बजेदेखि निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले यस अघि बिहीवारदेखि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक झण्डै ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको थियो ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १ सय ७७ मेगावाट भन्दा धेरै विद्युत् भारत निर्यात गरेको छ । कालीगण्डकी 'ए' को १ सय ४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट विद्युत् भारत निर्यात भएको हो ।

वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बाँकी रहेको विद्युतलाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएरातिदेखि निर्यात भएको विद्युतकाे औसत बिक्री मूल्य प्रतियुनिट ७ दशमलव १८ भारु अर्थात ११ रुपैयाँ ४८ पैसा रहेको जानकारी दिनुभयो ।

भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो ।

वर्षायाममा नेपालको बिजुली खपत नभएर खेर जाने अवस्था भए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया