‘पन्ध्रौँ चुली’को गृह लोकार्पण

 जेठ २२, २०७९ आइतबार १३:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौँ चुली’ को पोखरामा गृह लोकार्पण भएको छ । सन् १९५० मा पहिलो पटक अन्नपूर्ण फर्स्ट आरोहण गरेको दिन पारेर गरिएको त्यस कार्यक्रममा लेखक सरुभक्त र सीमाविद् मधुसुदन अधिकारले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभयाे । 

त्यस कार्यक्रममा सरुभक्त, मधुसुदन अधिकारी र नेपाल माउन्टेन एकेडेमीका निर्देशक उक्तमबाबु भट्टराईले पुस्तक विभिन्न आयाममाथि चर्चा गर्नुभयाे । 

उत्तमबाबु भट्टराईले ‘पन्ध्राैँ चुली’ साहित्यकारका लागि खुराक भएको र अध्येता तथा विद्यार्थीलाई सन्दर्भ सामग्री भएको बताउनु भयाे । उहाँले थप्नुभयाे, ‘हामी कहाँ ६ हजार मिटरभन्दा अग्ला १३ सयभन्दा बढी हिमालहरु छन् तर तिनको गहिरो अध्ययन भएको छैन । तिनको अध्ययन हुनुपर्छ । खिमलाल गौतमको यो पुस्तक त्यस्तो अध्ययनका लागि प्रस्थानविन्दु हुन सक्छ ।’

अर्का वक्ता अधिकारीले भन्नुभयाे, ‘सगरमाथाको उचाइ मात्र होइन, गहिराइ पनि छ । लेखक खिमलाल गौतमले सगरमाथाको उचाइ त नाप्नुभएकाे छ, त्यसको गहिराइ पनि नाप्नुभएकाे छ ।’

सगरमाथा आरोहणबारे ‘चुली’ उपन्यास लेखेका सरुभक्तले भन्नुभयाे, ‘पुस्तक पढ्दै गर्दा मलाई मैले काल्पनिक आरोहीको कथा जुन मैले लेखेको थिएँ, त्यही काल्पनिक आरोही भएर सगरमाथा चढिराखेको झैँ  महसुस गरेँ । कति ठाउँमा म भावुक भए, कति ठाउँमा रोमाञ्चित ।’ उहाँले थप्नुभयाे, ‘पन्ध्रौँ चुली उच्च कोटीको साहित्य त हो नै, सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणको उच्च कोटीको इतिहास पनि हो ।’

कार्यक्रममा लेखक गौतमले आफूले पुस्तक लेख्नुपर्नुका कारणबारे केही बताउनु भयाे । उहाँले केही आफ्ना निजी अनुभव पनि सुनाउनु भयाे । ‘पन्ध्रौँ चुली’ भावना र भूगोलको सम्मिश्रण हो । सगरमाथाका विषयमा हामीले गौरव मात्र गर्यौं, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उहाँले भन्नुभयाे, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भ सामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैपर्यो भनेर यसमा हात हालेको हुँ ।’  

राष्ट्रसेवाका अवसरमा आफू दुईदुई पटक सगरमाथा आरोहणमा गएको र त्यसको अनुभूति पक्कै पनि पाठकलाई उपयोगी हुन सक्ने ठानेर पुस्तक लेखनमा लागेको उहाँको भनाइ छ । ‘म राष्ट्रसेवक मात्र होइन, म निजी व्यक्ति पनि हुँ,’ उहाँले भन्नुभयाे, ‘यसलाई मैले साहित्य खण्डमा समेटेको छु । सगरमाथाबारेका तथ्यलाई मैले इतिहासमा समेटेको छु । यसबारे पाठकले पक्कै मूल्याङ्कन गर्नुहुनेछ ।’

सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुई पटक सगरमाथाको चुली चुमिसक्नु भएकाे छ। नेपालमा पर्यटन प्रवर्द्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उहाँ दोस्रो पटक भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न जानुभएकाे थियाे। सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पूरा हुन्छ। तर उहाँको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो ।

‘पन्ध्रौँ चुली’ साहस, जोखिम र सङ्घर्षको यात्रा–कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देख्नुभएकाे छ । उहाँलाई मृत्युले छोएर जान्छ : लिएर जाँदैन । यो यात्रा कथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटन गर्छ । पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया