किसानहरू हेपिएर देश बन्दैन, कृषि क्षेत्रलाई माया गराैँ : अर्थमन्त्री शर्मा

 जेठ २२, २०७९ आइतबार १९:२९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै उनीहरूले दुखेसाे गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो । 

मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई माया पनि गर्नुपर्‍याे । सम्मान पनि गर्नुपर्‍याे । किसानहरू हेपिएर देश बन्दैन । आजको विश्वको ठूलो समस्या भनेकै खाद्यको समस्या हो । हामीसँग हामीलाई पुग्न सक्ने, धान उत्पादन गर्न सक्ने खेतहरू छन् । तरकारी उत्पादन गर्ने बारीहरू छन् । हामीसँग कमी छैन । जनशक्तिको समस्या हामीलाई होइन । एउटा राष्ट्रिय सङ्कल्पको अभाव हाे, नीतिको अभाव हाे, त्यो खालको कार्यक्रमको अभाव हो । किसानहरूलाई प्रोत्साहित गर्ने, सम्मान गर्ने, आदर गर्ने संस्कारको अभाव हो । अब कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ ।’

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी यहीँ उत्पादन गर्नुपर्ने बताउनुभयो । कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उहाँले आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया