हप्तामा २ दिन बिदाको असर पेट्रोल पम्पमा, साझा र आर्मीका पम्पमा लामो लाइन

 जेठ २३, २०७९ सोमबार १४:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको असर पेट्रोल पम्पहरूमा समेत देखिएको छ । हप्तामा शनिवार र आइतवार पेट्रोल पम्प बन्द हुँदा सोमवार पेट्रोल पम्पहरूमा भिड र लामो लाइन देखिएको छ ।  

काठमाण्डौ उपत्यकाका साझा, नेपाली सेना, नेपाल प्रहरीसहित केही पुराना पेट्रोल पम्प अगाडि इन्धन भर्नेको लामो लाइन लागेको छ । दुई दिन पेट्रोल हाल्न नपाउँदा सोमवार मानिसको चाप बढेको नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारका पम्पहरूमा धेरै भण्डारण गर्ने क्षमता नभएकोले र दुई दिन बिदापछि सोमवार बिहानै डिपोबाट बजारमा पेट्रोल पुर्‍याउन पनि समय लाग्ने हुन्छ । दुई दिन पेट्रोल, डिजल हाल्न नपाएकाहरू एकै दिन धेरैको सङ्ख्यामा पम्पहरूमा पुग्ने भएकाले भिड देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, डिजलको अभाव भएको भन्दै नेपालमा पनि अभाव हुन सक्ने हल्ला चलेको छ । नेपालमा अहिलेसम्म डिजल, पेट्रोल आयातामा कुनै समस्या नभएकाले नआत्तिन उपभोक्तालाई प्रवक्ता उपाध्यायले आग्रह गर्नुभएको छ । काठमाण्डौ उपत्यकाबाट दैनिक साढे ६ देखि सात लाख लिटर पेट्रोल र १० देखि ११ लाख लिटर डिजल बिक्री हुने गरेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया