विद्युत् प्राधिकरणको अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र बन्दै

 जेठ २५, २०७९ बुधबार १३:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो ।

काठमाण्डौको स्युचाटारमा रहेकाे भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आउँदाे पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

केन्द्रमा काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दामुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ ।

साथै त्यहाँ अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर रहने छ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत रुपमा रहने छन् ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकोले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि २/३ महिना लाग्ने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्त्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भइ नाेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १ करोड २० लाख अमेरिकी डलर रहेको छ ।  

प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी  बनाउन ‘डिजिटल एनईए’ अवधारणामार्फत त्यहीअनुसार काम गरिरहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकीकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ । आउँदाे दिनहरुमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया