काठमाण्डौको फोहर व्यवस्थापन गर्न प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ : सांसद थापा

 जेठ २५, २०७९ बुधबार १३:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाण्डौ महानगरपालिकाको फोहरमुक्त सहर बनाउने अभियानलाई सक्रिय रूपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ । 
 
प्रतिनिधि सभाको आज बुधवारको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याउनुभयो । कांग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद थापाले भन्नुभयो, ‘काठमाण्डौको फोहर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाण्डौ महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । कतिपय कुरा दुइटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन । स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु ।’

सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानअनुसार स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ । 

फोहरमुक्त काठमाण्डौ अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूर्ण वडाले सङ्घ–संस्थाको साथमा काम अघि बढाउन पनि उहाँको आग्रह छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया