शेयर बजार ६० अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

 जेठ २५, २०७९ बुधबार १५:१३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनयता लगातार ओरालो लागेको शेयर बजार आज बुधवार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३१ वटा कम्पनीकाे ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । जम्मा सात वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

पुँजी बजारको समस्या समाधान गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको र धितोपत्र बोर्डको वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री लगायत सरोकारवालाले पुँजी बजारप्रति देखाएको चासो र घट्दै गएकोमा चिन्ता व्यक्त गरेकाले बजार बढेको विश्लेषकहरूले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया