शेयर बजारमा देखिएका समस्या समाधान गर्न सुझाव समिति गठन गरिएकाे छ : अर्थमन्त्री

 जेठ २५, २०७९ बुधबार १५:२३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपाली शेयर बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले चार सदस्यीय सुझाव समिति गठन गरेको बताउनुभएको छ । आज बुधवार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित चार सदस्यीय समिति गठन गरेको बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा शेयर बजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले शेयर बजारमा संलग्न रहेका लाखौँ लगानीकर्ता र सयौँ कम्पनीको समस्यालाई सरकारले गम्भीरताका साथ हेरर अनुगमनसमेत गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पुँजी बजारकाे समस्याहरूलाई हामीले हेरिरहेका छौँ । कसरी पुँजी बजारलाई व्यवस्थित बनाउने भन्ने कुरामा हामी पनि चिन्तित छौँ । हामी निरन्तर लगानीकर्ताको रक्षा गर्ने सन्दर्भमा इमानदारिताकासाथ लागिरहेका छौँ । हामी सबैको क्षमता बढाउनु जरुरी छ ।’

मन्त्री शर्माले अर्थ मन्त्रालय सधैँ नियमनकारी निकायहरू स्वायत्त रहनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले पुँजी बजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकायहरू स्वायत्त नै रहेको दाबी गर्नुभयो । मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शितासहितको स्वायत्तता खोज्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया