आज २ सय ८४ मेगावाट बिजुली भारतलाई बेच्दै प्राधिकरण

 जेठ २६, २०७९ बिहिबार १४:५७:२ | रासस
unn.prixa.net

काठमाण्डाै – आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आज बिहीवारमात्रै मर्स्याङ्दी र मध्यमर्स्यङ्दीको बिजुली पनि निर्यात हुने जनाएको छ । भारतमा यतिबेला ऊर्जाको अत्यधिक माग छ । त्याे माग परिपूर्तिका लागि सामान्यरूपमा नै भए पनि प्राधिकरणले बिजुली निर्यात गरेको हो । त्यसको मात्रामा क्रमशः वृद्धि भएको छ । 

प्राधिकरणले आज ६ हजार आठ सय ३१ दशमलव ६ मेगावाट घण्टा बिजुली ऊर्जा निर्यात गर्ने भएको छ । भारतमा शेयर बजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्दछ । त्यस आधारमा विभिन्न ९६ ब्लक निर्धारण गरिन्छ । यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसा बराबर पाउने भएको छ ।

भारतको ऊर्जा नियमक निकायले अधिकतम १२ भारुसम्म मात्रै बिजुलीको बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणले औसतमा ६ दशमलव ९९ भारु प्राप्त गरेको छ । मनसुनको समयमा भारतमा अत्यधिक गर्मी हुने र बिजुलीको माग अत्यधिक हुने भएकाले बिजुली उपलब्ध भएको अवस्थामा आवश्यकताका आधारमा निर्यात हुनसक्ने अवस्था छ । त्यस आधारमा प्राधिकरणले सात करोड युनिट बराबर बिजुली निर्यात गर्ने भएको छ । 

प्राधिकरणले मनसुनका ६ महिनामा मात्रै २५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ । त्यही आधारमा आज दुई सय ८४ मेगावाट बराबर बिजुली निर्यात हुनेछ । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् आयोजनाको पाँच सय ५३ दशमलव ६ मेगावाट घण्टा, देवीघाटको तीन सय ४५ दशमलव ५ मेगावाट घण्टा, कालीगण्डकी 'ए' को तीन हजार तीन सय ३४ मेगावाट घण्टा, मर्स्याङ्दीको एक हजार पाँच सय ९५ मेगावाट घण्टा र मध्यमर्स्याङ्दीको एक हजार तीन दशमलव पाँच मेगावाट घण्टा बराबरको बिजुली निर्यात हुनेछ ।

इनर्जी एक्सचेन्ज मार्केटमा प्रतियुनिट १२ भारु बराबरको उपलब्ध हुनेछ । त्यस्तै औसतमा भारु ६ दशमलव ९९ भारु र न्यूनतम २ दशमलव ४९९ भारुमा बिक्री हुनेछ । गएकाे चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भारत भ्रमणका क्रममा तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गर्ने गरी सहमति भएको थियो । त्यही आधारमा प्राधिकरणले दुई सय मेगावाट बराबरको बिजुली खुला बजारमा समेत बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एनभीभीएन लगायतका कम्पनी छनोट भइसकेका छन् ।

देशको प्रणालीमा दुई हजार तीन सय मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले आन्तरिक माग एक हजार ६ सय ३३ मेगावाट बराबर छ । प्रणालीमा लगातार बिजुली थप भइरहेको छ ।

चालु आवमा ६ सय २१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आउँदाे आवमा सात सय मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरेको छ । अहिले प्रणालीमा प्राधिकरणको १० हजार ६ सय ७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार दुई सय ५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार नाै सय २२ मेगावाट घण्टा बिजुली उपलब्ध छ । 
भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर विन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ ।

पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ । प्राधिकरणले ८७ मेगावाट बिजुली आयात गरिरहेको छ । त्यसलाई वर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नुपर्छ ।

नवलपरासीको दुम्कीबासमा दुई वटा टावर निर्माणमा स्थानीयवासीले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वोच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुनसकेको छैन ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Santosh Tiwari

    June 9, 2022, 5:07 p.m.

    देशलाई फाइदा हुने काममा जहिले यो अदालत खलनायकको भूमिका खेल्छ , त्यसले गर्दा ८७ मेगावाट किनेर भारत पठाउन मद्दत गरेको छ / कुलमानलाई सघाउँ , नेपालीलाई न्याय होस् /

  •  0 Reply

तपाईको प्रतिक्रिया