यो सरकार बनेदेखि शेयर बजार घटेको घट्यै छ, नीति बनाउँदा ख्याल गरौँ : योगेश भट्टराई

 जेठ २६, २०७९ बिहीबार १५:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनको सरकार बनेदेखि शेयर बजार घटेको घट्यै गरेको बताउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै सांसद भट्टराईले यो सरकारले बनाएका गलत नीति र मन्त्री तथा गठबन्धन दलका नेताहरूका गलत भनाइले गर्दा शेयर घटेको आरोप लगाउनुभयो । 

‘अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र आज केही महिनादेखि अशान्त छ, समस्याग्रस्त महत्त्वपूर्ण अर्थतन्त्रको क्षेत्र केही महिनादेखि अशान्त छ, समस्याग्रस्त छ । यो सरकार बनेपछि, सरकारमा सामेल भएका राजनीतिक दलका केही नेताहरूको अभिव्यक्तिबाट शेयर बजार चिन्तित अवस्थामा छ । आज पनि शेयर धितो कर्जाको सीमा बैंकबाट चार करोडदेखि बढीमा १२ करोड रुपैयाँसम्म राखिएको छ, यसलाई हेरफेर गर्न खोजिँदैछ । यो किन हेरफेर गर्ने ? यसले के असर गर्छ ? यसभन्दा अघि लिइरहेको कर्जाको अवस्था के हुन्छ ? पर्याप्त अध्ययन नभइकन यस्ता कतिपय नीतिहरू ल्याउँदा समस्या आएको छ, यसतर्फ सरकारको ध्यानकर्षण गराउँछु’, भट्टराईले भन्नुभयो ।  

नेपालको कुल गार्हस्थ्य उत्पादनकै हाराहारीमा बजार पुँजीकरण भएको, ५२ लाख डिम्याट खाता, अनलाइन कारोबार गर्ने १३ लाख सक्रिय खाता रहेको र प्रत्यक्ष/अप्रत्यक्षरूपमा पाँच लाख जनाले रोजगारी पाएको यो क्षेत्रलाई सरकारले उपेक्षा गरेको भट्टराईको आरोप छ । 

पुँजीवादी वा समाजवादी वा मिश्रित अर्थतन्त्र भनिएका देशको अर्थतन्त्रको प्रतिबिम्बकाे रूपमा शेयर बजारलाई हेरिने उदाहरण दिँदै सांसद भट्टराईले सरकारलाई बर्सेनि १८ अर्ब रुपैयाँ दिने शेयर बजारका नीति बनाउँदा ख्याल गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया