नायिका सोबिताको ‘वराङ्गना’ उपन्यास विमोचन

 असोज ५, २०७५ शुक्रबार २०:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली चलचित्रकी नायिका सोबिता सिम्खडाको उपन्यास वराङ्गना शुक्रबार एक समारोहबीच विमोचन भएको छ । 

बुलबुल पब्लिकेशनले प्रकाशन गरेको उपन्यास ‘वराङ्गना’ पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, वरिष्ठ पत्रकार बबिता बस्नेत, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव सीताराम घले परियार, साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । 

कार्यक्रममा पमुख अतिथि पूर्वप्रधानमन्त्री चन्दले नेपाली साहित्य क्षेत्रमा लेखिकाको रुपमा सोबिताको प्रवेशले नयाँ आयाम दिएको बताउनुभयो । नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकारको कृति व्यावसायिक लेखकको भन्दा कम नभएको उहाँको भनाई थियो । उपन्यास ‘वराङ्गना’ले नेपाली समाजको वास्तविकता बोकेको चन्दको टिप्पणी थियो । 

पुस्तकको समीक्षा गर्दै साहित्यकार, सञ्चारकर्मी तथा समालोचक डा. नवराज लम्सालले वर्षौंदेखि विश्वविद्यालयमा पश्चिमा साहित्य पढाउँदै आएका प्राध्यापकहरुले अब ‘वराङ्गना’ जस्ता उपन्यास हेरेर नेपाली विद्यार्थीेले पढ्नुपर्ने कुराको मानक तय गर्नुपर्ने बताउनुभयो । 

नेपाली चलचित्र क्षेत्रमा स्थापित भएकी एउटी नायिकाले लेखेको पुस्तक यति उच्च कोटीको बनेको छ भन्दै डा. लम्सालले अब नेपाली साहित्यमा उत्कृष्टताको खोजी अन्त्य हुँदै गरेको महसुस भएको बताउनुभयो  । 

नेपाली साहित्य हिँडिरहेको बाटोबाट अबको केही वर्षमै फरक मोड लिने कुरामा ठोकुवा गर्दै डा. लम्सालले वराङ्गना जस्तै थोरै कृतिहरुबाट यस किसिमको परिवर्तनको सुरुवात हुनेमा जोड दिनुभयो ।

सञ्चारकर्मी तथा सहित्यकार बबिता बस्नेतले ‘वराङ्गना’ उपन्यास नेपाली समाजलाई परम्पराबाट अलग बाटोतर्फ  लैजान सफल हुन विश्वास व्यक्त गर्नुभयो । 

सबै कोणबाट पुस्तक उपयुक्त रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले महिलाले लेखेको हुनाले उपन्यास लैंगिक समानता आवाज मुखरित गर्न प्रभावकारी रहेको भन्दै शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव सीताराम घले परियारले दलितलाई मुख्य पात्रका रुपमा उतारिएको उपन्यास सामाजिक दृष्टिकोणबाट हेर्दा कतै कमी कमजोरी नदेखिएको भन्दै प्रशंसा गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया