बजेट कम पाएकाे भन्दै गण्डकी प्रदेशका ऊर्जामन्त्रीद्वारा विराेध

 जेठ ३०, २०७९ सोमबार १९:२८:५३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आउँदाे आर्थिक वर्षकाे बजेटकाे विराेध गर्नुभएकाे छ । 

संसदीय कार्यालयमा आज साेमवार पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो मन्त्रालयले अघिल्लो वर्षकाे भन्दा पनि कम बजेट पाएको भन्दै विरोध जनाउनुभएकाे हाे । गण्डकी प्रदेश सरकारले पर्सि बुधवार बजेट ल्याउँदै छ । चालु आर्थिक वर्षमा १२ दशमलव ६ प्रतिशत बजेट पाएको मन्त्रालयलाई आउँदाे बजेटमा ६ दशमलव ३ प्रतिशत मात्रै बजेट छुट्याइएकाे उहाँकाे भनाइ छ । 

जसपाका नेतासमेत रहनुभएका मन्त्री आचार्यले गण्डकी प्रदेशकाे अहिलको बजेट ३० अर्ब रुपैयाँ रहेको र अब आउने बजेट ३६ अर्ब रुपैयाँभन्दा धेरैकाे भए पनि आफ्नाे मन्त्रालयले कम पाएकाे गुनासाे गर्नुभयाे । 

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको हालिमुहाली रहेकाे भन्दै जसपा सरकारबाट बाहिरिन सक्ने मन्त्री आचार्यले चेतावनी दिनुभयाे । जसपाबाट गण्डकी प्रदेश सरकारमा दुई जना सांसद छन् ।

प्रदेश सभाको सोमवारको बैठकमा आउँदाे आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । मन्त्री आचार्य बैठकमा पुगे पनि नीति तथा कार्यक्रम पास गर्ने बेला उहाँले न टेबल ठोक्नुभयाे न हात उठाउनुभयाे । प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भयाे । 

अन्तिम अपडेट: चैत २६, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया