जापानबाट ३६ कराेड ६२ लाख रुपैयाँ अनुदान लिने सरकारकाे निर्णय

 असार २, २०७९ बिहीबार १७:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (३६ करोड ६२ लाख रुपैयाँ बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै आज बिहीवार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले यो जानकारी दिनुभएको हो । 

त्यस्तै बैठकले नेपाल सरकार र बेलायत सरकारको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । 

सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताउनुभयो । 

सरकारले एपीजी एसिया प्यासिफिक ग्रुप अफ मनी लर्निङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।  

त्यस्तै मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।  

२०७९ असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने नाइन्टी सेकेन्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेन्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिनुभयो । 

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सह सचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ । 

प्रवक्ता कार्कीका अनुसार २०७९ असार ६ गतेदेखि १३ गतेसम्म थाइल्यान्ड र भियतनाममा हुने नलेज शेयरिङ वर्कशप अन इन्क्लुशिप फाइनान्सिङ अप्शन फर एमएस एमीअसकोअप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने निर्णय भएको छ । 

यस्तै २०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान दिव्पक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गरिने भएको छ । 

नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत श्री राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेशन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरू धर्मराज तामाङ, वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृत दिने पनि निर्णय भएको छ । 

प्रवक्ता कार्कीका अनुसार सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरू मध्येबाट प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाका लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । 

यस्तै सरकारले दक्षिण कोरियाको सिओलमा २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वल्र्ड टुरिजम इन्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने निर्णय गरेको छ । 

बैठकले तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्य सचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने निर्णय गरेको पनि बताउनुभयो । 

प्रवक्ता कार्कीले २०७९ असार ८ देखि १० सम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरूको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत दिने निर्णय भएको जानकारी दिनुभयो । 

निजी आवास पुुनर्निर्माण तथा प्रवलीकरणको कार्यलाई २०७९ असारसम्म निरन्तरता दिने, सरकारी जग्गा दर्ता तथा लिज उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७८ स्वीकृत गरिने भएको छ । 

यस्तै सरकारी सम्पत्ति तथा निजी जेन्सी माल सामान बिक्री तथा मिनाहसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने र उपचार खर्च, राहत तथा बाल आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया