संसदीय समितिले सरकारसँग माग्याे एसपीपीसँग सम्बन्धित कागजपत्र

 असार ३, २०७९ शुक्रबार १६:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ । 

आज शुक्रवार परराष्ट्र मन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो । 

समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतवार समितिको बैठकमा बोलाएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीको विषय सकिएकोले अब नखोतल्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नै यो सम्झौता नगर्ने, यसलाई अन्त्य गर्ने प्रक्रियामा जान्छौँ भन्नुभएको भन्दै उहाँले अब यसलाई नकोट्याउन आग्रह गर्नुभयो । 

यस्तै प्रधानसेनापति प्रभुराम शर्माले पनि एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताउनुभयो । समिति बैठकमा एसपीपीबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताउनुभएको हो । 

सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको भन्दै उहाँले सैन्य गठबन्धनमा जाने भएपछि हामी जाँदैनौँ भनेको बताउनुभयो । उहाँले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको पनि जानकारी गराउनुभयो । 

बैठकमा नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले एसपीपीलाई नकोट्याउन गरेको आग्रहको विरोध गर्नुभएको छ । उहाँले यो सम्झौतासम्बन्धी विस्तृत रूपमा जानकारी दिनु पदीय र कानुनी दायित्व भएको बताउनुभयो । परराष्ट्र नीति बाहिर ल्याउँदा गाह्रो पर्ने अवस्था आए देशको कुटनीति कमजोर रहेछ भन्ने बुझ्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया