बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

 असार ५, २०७९ आइतबार १९:३२:० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आज आइतवार एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 

वडा नम्बर १ देखि ११ सम्मका सबै २३ महिनामुनिका बालबालिकाहरूले सबै खोप प्राप्त गरिसकेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिंहले बताउनुभयो । 
कामको सिलसिलामा विदेश जानेको सङ्ख्या धेरै भएकाले उनीहरूका छोराछोरी छुटेको आशङ्का गरिएको उनीहरूलाई पनि खोप दिन आवश्यक रहेको नगरपालिकाका मेयर चेतराज बजालले बताउनुभयो । बालबालिकाहरू खोजी–खोजी खोप लगाउने स्वास्थ्यकर्मीलाई उहाँले धन्यवाद दिनुभयो । 

सरकारको नियमित कार्यक्रमअन्तर्गत नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । यो वर्ष जयपृथ्वी नगरपालिका जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चित गर्ने पालिका बनेको छ । 

नगरपालिकाभित्रका जन्मेदेखि १५ महिनाभित्रका तीन सय नौ र १५ महिनादेखि २३ महिनाभित्रका तीन सय १६ जना बालबालिकाले खोप पाएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया