लाखौँ नेपालीले भरोसा गरेको शेयर बजारलाई पुनरुत्थान गर्न आवश्यक छ : भट्टराई

 असार ७, २०७९ मंगलबार १६:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुँजी बजारमा देखिएकाे समस्या समाधान गर्न सरकारसँग माग गरेकाे छ । 

प्रतिनिधि सभाको आज मङ्गलवारकाे बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजी बजार सङ्कटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो । पुँजी बजार धराशायी हुँदा सिङ्गो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानी जोखिममा परेको भन्दै उहाँले पुँजी बजारको पुनरुत्थान गर्न सरकारसँग माग गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘लाखौँ व्यक्ति आबद्ध भएको, लाखौँ नेपालीले भरोसा गरेको शेयर बजारलाई हामीले कुनै न कुनै रूपमा पुनरुत्थान गर्न आवश्यक छ । त्यसका लागि अर्थ मन्त्रीले, अर्थ मन्त्रालयले कदम उठाएर भए पन, राष्ट्र बैंकले आफ्नो नीतिहरूलाई पुनरावलोकन गरेर भए पनि शेयर बजारलाई पुनरुत्थान गर्न एमाले माग गर्दछ । 

प्रमुख सचेतक भट्टराईले शेयर बजारका लगानीकर्ताको सुरक्षा सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले पुँजी बजार सुधारको माग राखी अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले बेला–बेलामा नेताहरूले शेयर बजारलाई नोक्सान हुने गरी अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै नेताहरूलाई आफ्नो अभिव्यक्ति सच्याउन पनि आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया