न्यायाधीश र व्यवसायीबीच घुस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषद् बैठक बस्दै

 असार ८, २०७९ बुधबार ११:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बोलाइएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाउनु भएको हो । बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाण्डौ जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने छ । सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूलाई आउने पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइरालाले आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाण्डौ जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । यो घुसको डिल भएको समय, २०७८ पुसमा उनी नेपाल बार एशोसिएसनको कोषाध्यक्ष थिए । न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिएका छन् । त्यो समयमा नेपाल बार एशाेसिएसन प्रधानन्यायाधीश जबरामा न्यायिक विचलन आएको भन्दै उनको राजीनामा मागेर आन्दोलनमा थियो । अधिवक्ता पोखरेल भने खुलेरै बारको आन्दोलनको विरोधमा र प्रधानन्यायाधीश जबराको पक्षमा लागेका थिए ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गएको वर्षको असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यही मुद्दामा तामाङलाई धरौटीमा छाड्न गरिएको डिलमा सहमति जनाएका न्यायाधीश कोइरालाले २०७८ को पुस १४ मा भने तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएका थिए ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया