भारतीय पर्यटक बोकेर जनकपुरधाम आइपुग्याे रामायण सर्किट रेल (तस्बिरहरू)

 असार ९, २०७९ बिहिबार १८:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – रामायण सर्किट जोड्ने पहिलो 'भारत गौरव पर्यटक रेल' आज बिहीवार जनकपुरधाम आइपुगेको छ । गएकाे मङ्गलवार बेलुकी ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको रेल रामायण सर्किट हुँदै बिहीवार दिउँसो पौने २ बजे जनकपुरधाम आइपुगेको हो ।

धार्मिक, सांस्कृतिक प्रवर्द्धनका लागि झन्डै पाँच सय यात्रुसहित रेल जनकपुरमा पहिलो पटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । 

रेल जनकपुरधाम आइपुगेपछि रेल्वे स्टेशनमा तीर्थालुले जय श्री रामको भजन गाएका थिए । रेल्वे स्टेशनमा स्वागत गर्दै मुख्यमन्त्री राउतले नेपाल–भारतको सम्बन्धमा यस प्रकारको गतिविधिले कोशेढुङ्गा सावित हुने बताउनु भयो । उहाँले आफूहरू सुरुदेखि नै नेपालको भू–भागलाई रामायण सर्किटसँग जोडिनुपर्ने पक्षमा रहेको र आज रेल आएसँगै उत्साहपूर्ण वातावरण निर्माण भएकाे बताउनुभयो । 

मुख्यमन्त्री राउतले यसलाई निरन्तरता दिएको खण्डमा प्रदेशको मात्रै नभइ नेपाल–भारतको पर्यटकीय गतिवधिको समृद्धिको आधार खडा हुनसक्ने बताउनुभयो ।

जनकपुरधाम आइपुगेका तीर्थालुले रामजानकी मन्दिर, गङ्गा सागरमा हुने आरतीलगायतका ठाउँहरू घुमेर भोलि शुक्रवार सितामढी प्रस्थान गर्ने जनाइएको छ । तीर्थालुलाई हेर्न र स्वागत गर्न सयौँको सङ्ख्यामा मानिसहरू रेल्वे स्टेशन पुगेका थिए । वैदिक स्वस्तिक वाचनदेखि परम्परागत बाजाहरूबाट पर्यटकलाई स्वागत गरिएको थियो । 

भारत सरकारले भगवान् राम जहाँ–जहाँ जानुभएको थियो त्यस स्थानलाई रामायण सर्किटको अवधारणा ल्याएर जोड्ने काम गरिरहेको छ । यसले रामायणकालीन विभिन्न स्थलहरूमा पर्यटककाे सहजै आवागमन हुने बताइएको छ । 

रेलले आठ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ । रेलको सर्वाधिक महत्त्वपूर्ण गन्तव्य जनकपुरधाम र अयोध्या रहेको छ । सीता र रामको जन्मस्थललाई जोड्दै रामायणकालीन सीताराम सम्बद्ध प्रसिद्ध स्थलहरूको तीर्थालुले दर्शन गर्न पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया