ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
तनहुँ - तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति पारित गरेको छ ।
‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो।
छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो।
नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग गर्ने प्रबन्ध मिलाउने भएको छ । दलित, आदिवासी जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङका छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको विवाहमा नगद सहयोग गरिने र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवम् अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाइने उपमेयर दरैले जानकारी दिनुभयो ।
नगरपालिकाले महिलाको क्षमता विकास एवम् सीप विकास गरी आत्मनिर्भर बनाउन ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान, स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग, ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत गर्भवतीको पोषणमा सहयोग गर्ने नीति पारित भएको छ ।
उच्च शिक्षा अध्ययन गर्ने आर्थिकरुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति, दलित, सिमान्तकृत, लोपोन्मुख जाति एवम् मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवम् सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरपालिकाले सबै जातजातिको मौलिक संस्कृति संरक्षण गर्दै कुसुन्डा, बोटे, चेपाङ, दरै, कुमाल, मगर, गुरुङ, नेवार, मुस्लिम, अन्य जातका सांस्कृतिक एवम् जीवनोपयोगी सीपमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने उपप्रमुख दरैले बताउनुभयो ।
नगरभित्र स्थायी बसोबास गर्ने विद्यालय तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा लैङ्गीक हिंसा निवारण कोष सञ्चालन गर्ने र हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग एवम् उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइने दरैले उल्लेख गर्नुभयो ।
उच्च शिक्षा अध्ययन गर्ने आर्थिकरुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने, दलित, सिमान्तकृत, लोपोन्मुख जाति एवम् मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवम् सीप विकासका कार्यक्रममार्फत सशक्तीकरणको नीति लिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।