महाकाली सन्धिकाे २६ वर्षपछि नेपालले पानी पायाे (तस्बिरहरू)

 असार १४, २०७९ मंगलबार १८:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य सुरु भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिदेखि परीक्षण गर्नका लागि पानी छोड्न थालिएको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर भोलि बुधवार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । 

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तररूपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल–भारत दुई देशबीच महाकाली सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार नेपाललाई टनकपुर ब्यारेजबाट २८ दशमलव ३५ क्युसेक पानी उपलब्ध गराउने सहमति भएको थियो । काम गर्दै जाँदा २६ वर्षपछि नेपालतर्फ नहर बनेर पानी झरेको अवस्था छ । अहिले निरन्तर पानी परीक्षण भइरहेको छ । भोलि असार १५ गते धान दिवसको अवसरमा टनकपुरबाट १९ किलो मिटरबाट पानी ल्याएर पहिलो पटक नेपाली खेतमा पानी पुर्‍याएर रोपाइँ गर्ने कार्यक्रम राखेका छौं । २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैलाई खुसी लागेको छ ।’

सन् २०२२ सम्म मूल नहर निर्माणसम्पन्न गरिसक्नुपर्ने भनिए पनि पूरै काम सकिने सम्भावना कम देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८ दशमलव ३५ क्युसेक पानी पाउनेछ भने हिउँदको समयमा ८ दशमलव ५ क्युसेक पानी प्राप्त गर्नेछ । मूल नहरसँगै शाखा नहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका अनुसार ब्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछ भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा शाखा विस्तार गरिनेछ । 

सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो । 

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया