रैथाने जातका धानको संरक्षणसहित धान चामलमा आत्मनिर्भर बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड

 असार १५, २०७९ बुधबार ७:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका रैथाने धानका जातको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरेर देशलाई धान, चामलमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश व्यक्त गदै उहाँले नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वसँग धान खेतीको सम्बन्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि ठाउँ ओगटेको उल्लेख गर्नुभएको छ ।

नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन–२०७५ कार्यान्वयन भइरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले भोकमरी अन्त्य गर्नेलगायतका दिगो विकासका लक्ष्यहरू प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवर्द्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।  
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया