ललिता निवास जग्गा प्रकरणमा सरकारले नै चासो दिएन : सांसद सुवाल

 असार २०, २०७९ सोमबार २०:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गर्नुभएको छ । 

आज सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताउनुभयो । 

सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले जिल्लाका प्रहरी अधिकारीहरूले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ ? कसले जवाफ दिने हो ?’

सांसद सुवालले पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भन्दै त्यसलाई कुन सुरक्षा निकायबाट हेर्ने हो ? भन्दै प्रश्न पनि गर्नुभयो ।  

अन्तिम अपडेट: साउन ९, २०७९

तपाईको प्रतिक्रिया