महाकाली करिडोर : १२ वर्षमा जम्मा ३० किलोमिटर सडक कालोपत्रे

 साउन ५, २०७९ बिहीबार १२:१०:३८ | रासस
unn.prixa.net

कञ्चनपुर - नेपाल, भारत र चीनसँगकाे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । २०६६ सालदेखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ । 

कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने योजनाअन्तर्गत ४ सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । निर्माणको काम सुस्त गतिमा भइरहेको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इञ्जीनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रयाक खोल्ने काम भइरहेको बताउनुभयो । 'पूरै आयोजना हेर्दा दार्चुलाका विभिन्न ठाउँमा गरेर अहिलेसम्म ३० किलोमिटर सडक कालोपत्र भएको छ ।' इञ्जीनियर घतानीले भन्नुभयो, 'शून्य बिन्दुबाट (ब्रह्मदेव क्षेत्र) भने काम सञ्चालन हुनसकेको अवस्था छैन ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्रयाक खोल्न गएकाे वर्ष असारमा ५ करोड ५० लाख रुपैयाँ ठेक्का सम्झौता भए पनि काम भने हुन सकेन । यस क्षेत्रको ट्रयाक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको भए पनि रुख कटानको विषय आयोजनाले टुङ्गोमा लगाउन नसक्दा निर्माण व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । 'वन नभएको खाली क्षेत्रमा भने निर्माणको अलि–अलि काम भएको छ', उहाँले भन्नुभयो, 'रुख कटानको विषय वन मन्त्रालयमा थन्किएको छ ।' 

करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै १ हजार ९ सय ५१ रुख कटान गर्नुपर्ने छ । याे  १५ किलोमिटर ट्रयाक २०८० सालभित्र खोलिसक्नुपर्ने भए पनि निर्माण पक्षले एक वर्ष रित्तो बस्नुपर्यो । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले करिडोरअन्तर्गत बाँकी तीन जिल्लामा ट्रयाक खोल्ने काम भइरहेको जनाएको छ ।

योजना कार्यालयका अनुसार अहिलेसम्म डडेलधुरामा २२ किलोमिटर ट्रयाक खुलेको छ । डडेलधुरा क्षेत्रमा करिडोरको ५४ किलोमिटर ट्रयाक खुलाउनुपर्ने छ । त्यसैगरी बैतडीमा १ सय ४५ किलोमिटरमध्ये ७० किलोमिटर ट्रयाक खुलिसकेको इञ्जीनियर घतानीले जानकारी दिनुभयो । उहाँले दार्चुलामा २ सय किलोमिटरमध्ये ९४ किलोमिटर ट्रयाक खुलेको बताउनुभयो । दार्चुलामा २ सय किलोमिटरमध्ये ७८ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ । २०६६ सालमा दार्चुला–तिङ्कर सडक नामाकरण गरिएको यस योजना २०७४ सालमा महाकाली करिडोरमा परिणत गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण करिडोर मानिए पनि सरकारले योजनाको रकम विनियोजनमा भने विगतको भन्दा घटाएको छ । गएकाे वर्ष  ७९ करोड ४२ लाख रुपैयाँ रकम विनियोजना भएकामा चालु आवमा ४१ करोड रुपैयाँमात्रै बजेट रहेको योजना कार्यालयले जनाएको छ ।

रुख कटानलगायतका प्रक्रियागत कारणले योजनाको काम ढिलाइ भइरहेको देखिन्छ । करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर क्षेत्रमा १ हजार ९ सय ५१ रुख कटान गर्नुपर्ने छ । त्यसैगरी डडेलधुरामा १० हजार ४ सय ७६, बैतडीमा ४ हजार ५ सय ९६ र दार्चुलामा २ हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला–तिङ्कर सडक योजना कार्यालयले जनाएको छ ।

'रुख कटानका लागि वन विकास कोषमा हामीले ५७ करोड रुपैयाँ रकम जम्मा गर्नुपर्नेमा ३७ करोड रुपैयाँ जम्मा गरिसकेका छौँ', इञ्जीनियर घतानीले भन्नुभयो, 'रकम जम्मा हुनासाथ रुख कटानको विषय पनि टुङ्गोमा पुग्छ ।' उहाँले करिडोरअन्तर्गत सबैतिर ट्रयाक खोल्न ठेक्का सम्झौता भइसकेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया