ग्वार्काे 'फ्लाई ओभर' को काम भदौदेखि

 साउन ५, २०७९ बिहिबार १७:६:२८ | रासस
unn.prixa.net

काठमाण्डाै – ग्वार्खो 'फ्लाई ओभर' को काम आउँदाे भदौदेखि सुरुवात गरिने भएको छ । सरकारको लगानीमा पहिलो पटक याे फ्लाई ओभर बनाउन लागिएको हो । 

वैदेशिक लगानीमा यसअघि नागढुङ्गा सुरुङ मार्ग आयोजनाअन्तर्गत फ्लाई ओभरको निर्माण अघि बढाइएको थियो । गएकाे आर्थिक वर्षमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैँले डिजाइन गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । निर्माण कम्पनीले तयार गरेको डिजाइन प्रतिक्रियाका लागि सरकारलाई पेस गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) सौरभ बज्राचार्यले बताउनुभयो । सरकारले दिएको सुझाव समेटेर पुनः डिजाइन आउने र यसपछि निर्माणमा जाने भएको छ । 

डिजाइन स्वीकृत भएपछि निर्माणमा जाने र त्यसको डेढ वर्षमा सम्पन्न गरिने उहाँले बताउनुभयो । यसको अवधि दुई वर्ष रहेकाेमा चार महिना सकिएर २० महिना बाँकी छ । उहाँले भन्नुभयो, तयारीका लागि अहिलेसम्म समय तालिकाभन्दा ढिला छैन । 

डिजाइन आएपछि केन्द्रले २१ दिनभित्रमा डिजाइन स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो । विभागीय प्रक्रिया पूरा गरेर केन्द्रले साउनको अन्तिमसम्ममा स्वीकृति दिनेछ । उहाँले भन्नुभयो, भदौदेखि नै कम्पनीले भौतिक काम सुरु गर्न सक्नेछ । 

फ्लाई ओभरकाे लम्बाइ, चौडाइ, उचाइलगायतका विषयमा यसअघि नै केन्द्रले खाका बनाएको छ । सामान्यतया ती कुरा परिवर्तन नभएरभित्रको केही कुराजस्तै डन्डी कति हाल्ने, कङ्क्रिट कति हाल्ने भन्ने कुरा डिजाइनमा उल्लेख हुने उहाँले बताउनुभयो । 

सरकारले चालु आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि फ्लाई ओभर निर्माण गर्ने उल्लेख गरेको छ । तीन वटै फ्लाई ओभरका लागि एक अर्ब ३४ करोड रुपैयाँ चाहिन्छ । अर्थ मन्त्रालयबाट त्यो रकमका लागि सहमति आएपछि ठेक्का प्रक्रियामा जान सकिने उहाँले बताउनुभयो । 

चालु आवको बजेटमा तीनै वटाका लागि २५ करोड रुपैयाँ छुट्टाइएको छ । साउन अन्तिमसम्ममा बहुवर्षीय ठेक्काका लागि सहमति आएपछि ठेक्कामा जान सकिने सीडीई बज्राचार्यले बताउनुभयो । सरकार आफैँले इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्सट्रक्शन (ईपीसी) सम्झौता गरी पहिलो फ्लाई ओभर निर्माण गर्न लागेको हो । यसमा 'डिजाइन एन्ड बिल्ड' सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने केन्द्रका सिनियर डिभिजनल इन्जिनियर बज्राचार्यले बताउनुभयो । 

चुनौती बहन गर्ने विषय ईपीसीमा 'डिजाइन एन्ड बिल्ड' भन्दा फरक छ । यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ । 'डिजाइन एन्ड बिल्ड' मा केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने ईपीसीका सम्पूर्ण काम र जिम्मेवारी कम्पनीको हुने उहाँले बताउनुभयो । 

ईपीसी अनुसार निर्माण गर्दा निर्माण कम्पनीले डिजाइन परिवर्तन गर्न पाउँछ । कार्यालयले यस्तो हुनुपर्छ भनेर 'कन्सेप्ट' दिएमा आवश्यकताअनुसार केही परिवर्तन गरेर डिजाइन तयार हुने सीडीई बज्राचार्यले बताउनुभयो । 

अहिले फ्लाई ओभरका लागि सुरुमा ट्राफिक व्यवस्थापनमा केही परिवर्तन गर्नुपर्ने देखिएको छ । संरचनमा परिवर्तन नभए पनि ट्राफिक व्यवस्थापनमा केही परिवर्तन हुनसक्ने देखिएको छ । निर्माणको समयमा र निर्माण भएर 'फ्लाई ओभर' सञ्चालनमा आएपछि कता कताबाट कसरी गाडी सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा केही परिवर्तन हुने देखिएको छ । 

निर्माणको अवधिमा मुख्य लेनमा गाडी चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सर्भिस लेन मात्रै पर्याप्त नहुने देखिएको छ । सहायक लेनले धान्न नसक्दा त्योभन्दा बाहिरको लेन (सर्भिस लेन) प्रयोगमा ल्याउनुपर्ने हुनसक्छ । चक्रपथको त्याे खण्डमा कतै सर्भिस लेन बनिसकेको छ भने कतै सम्पन्न हुन बाँकी छ । 

याे फ्लाई ओभरकाे फागुन १९ मा डिजाइन सुरु भएको थियो । सरकार आफैँले निर्माण गर्न लागेको पहिलो फ्लाई ओभर सरकार र निर्माण व्यवसायी दुवैका लागि नयाँ हो । अहिलेसम्म फ्लाई ओभर निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको हो । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेका छन् । 

जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प आवश्यक देखिएको हो । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रै बनाएर राख्न खोजिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै फ्लाई ओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाई ओभर पुगिनेछ । त्यतातर्फ दुई सय ८० मिटर लामो र्‍याम हुने र सातादोबाटोतर्फ झर्न एक सय ७५ मिटर लम्बाइको र्‍याम हुने बताइएको छ । सुपर स्ट्रक्चर ३५ मिटर हुने 'फ्लाई ओभर' को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने गाडी पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने गाडी चल्नेछन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया