आज गथांमुग: र घन्टाकर्ण पर्व मनाइँदै

 साउन १०, २०७९ मंगलबार ८:१९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज नेपाल सम्वतकाे तिथि अनुसार दिल्लागा चतुर्दशी । आजको दिनलाई गथांमुगः चःह्रे भन्ने गरिन्छ । 

कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । यस पर्वअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो र दोबाटोमा छ्वाली र पराल तथा नर्कटले बनाइएका आकृतिलाई जलाइन्छ त कतै खोलामा सेलाइन्छ । 

नेपालभाषी समुदायमा बढी महत्त्वको यो पर्वलाई ठाउँअनुसार फरक फरक नाम दिइएको छ । बिहानै चोकचोकमा प्रतिकात्मक भूतका रुपमा बेतबाँसका गथांमुगः बनाएर राखिएका छन् । ती गथांमुगःहरुलाई बेलुका घरघरबाट विशेष तान्त्रिक विधिबाट पूजापछि घिसार्दै नजिकका खोला र नदीहरुका बगाइदिने गरिन्छ । 

आजकै दिन आफ्ना घरमा भूतप्रेतहरुले प्रवेश नगरोस् भनी फलामका किला काँटा लगायत प्याकिङ्ग भनिने विशेष प्रकारको काँटी टाँग्ने गरिन्छ । वर्षायामको खेतीपातीपछि आजकै दिनबाट केही समय फुर्सद निकालेर नेवाः समुदायमा सांस्कृतिक गतिविधि सुरु गरिन्छ । 

यो पर्वलाई किसानको रोपाइँ कार्य सम्पन्न भएको र वर्ष दिनको चाडपर्वको सुरुआत भएको सङ्केत पर्वको रुपमा लिने गरिएको छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीको अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा यसलाई लिने गरिएको छ ।  

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवम् संस्कृतिविद् डाक्टर पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । यो पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया