अर्थमन्त्रीमा जनार्दन शर्मा दाेहाेरिएपछि ओलीकाे टिप्पणी– याे गठबन्धनसँग अरू मान्छे नै रहेनछ

 साउन १७, २०७९ मंगलबार १८:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गर्नुभएको छ । तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली नागरिककाे विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गर्नुभयो । 

भ्रष्टाचारको केसमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरू कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकिरसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारको केस लाग्या छ, छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानबिन गर्न दिएकै छैन । छानबनि भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सीसीटीभी फुटेज मेटाइएको छ । अनि सफाइ पायो । कहाँबाट पायो सफाइ ? कल डिटेल लिन नमानेर गठबन्धनवालाहरू । अनि फेरि अचम्म त के भने लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको । नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला ? फेरि उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरू मान्छै नै रहेनछ ।’

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरूप्रति सङ्केत गर्दै कांग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरूसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहोर्‍याउनुभयो । उहाँले नेकपा (माले) का महासचिव सीपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वानसमेत गर्नुभयो । दुष्टहरूले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरू भने पार्टी एकता नै गरेर अघि बढ्नुपर्ने प्रस्ताव गर्नुभयो । देश र नागरिककाे विरुद्धमा नगएकाहरूबीच एकताबद्ध भएर देशलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली नागरिकले आउँदाे चुनावमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वाससमेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया