प्रधानमन्त्रीले ओलीसँग कुरा गर्न खाेज्दा फाेन लागेन, त्यसपछि चुनावकाे मिति घाेषणा भयाे : मन्त्री कार्की

 साउन २०, २०७९ शुक्रबार १३:५२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मिति घोषणा गर्ने कुरा संविधान, कानुनअनुसार नै भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूसँग परार्मशसमेत नगरि सरकारले चुनावकाे मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिनुभएको हो । 

आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले निर्वाचन आयोगको परामर्शअनुसार सरकारले चुनावकाे मिति घोषणा गरेको बताउनुभयाे । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने कुरा अपेक्षित रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसका लागि प्रमुख प्रतिपक्षसँग परामर्श गर्नैपर्ने भन्ने कुरामा सत्यमा नरहेको दाबीसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘चुनावको मिति घोषणा गर्ने कुरा निर्वाचन आयोगले धेरै अगाडि प्रस्ताव गरेको हो । आयोगको परामर्शअनुसार सरकारले गर्ने कुरा यो नियमित अभ्यासकै कुरा हो । प्रतिपक्षसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने भन्ने कुरामा सत्यता छैन । प्रधानमन्त्रीले क्याबिनेट सुरु हुनुअघि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई फोन गर्न कोसिस गर्नुभएको थियो । त्यसमा म पनि उपस्थित छु । तर त्यो बेला फोन संवाद हुन सकेन । त्यसपछि निर्णय भयो । मङ्सिर ४ गते चुनाव हुने कुरा अपेक्षित कुरा हो ।’

मन्त्री कार्कीले सत्तारूढ दलहरूबीचको चुनावी तालमेललाई अघि बढाउनका लागि आवश्यकताअनुसार छलफल गर्दै अघि बढ्ने सहमति पनि गरिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया