२५ वर्ष पुरानो शौचालयकाे पुनर्निर्माण, ‘शौचालय हुनु त यस्तो’– मेयर साह

 साउन २२, २०७९ आइतबार २०:१५:३४ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका वडा नम्बर २० मा रहेकाे परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रूपमा स्तरोन्नति गरिएको छ । 

कामपा २० र एरोसान सस्टेनेबल स्यानिटेसन को संयुक्त साझेदारीमा स्तरोन्नति गरिएको शौचालय अपाङ्ग, वातावरण तथा महिलामैत्री छन् ।   पुनर्निर्माण गरिएको शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सुविधा राखिएका छन् । कामपा २० का अध्यक्ष राजेन्द्र मानन्धरले शनिवार नवनिर्मित शौचालयको शुभारम्भ गर्नुभयो ।

कामपाका मेयर बालेन्द्र साहले सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चासो राख्नुभयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक शौचालय हुनु त यस्तो व्यवस्थित । महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ । यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’ शौचालयमा प्रयोग भएको आकाशेपानी सङ्कलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिँदै  शौचालयलाई सिकाइ केन्द्रका रूपमा विकास गर्न सकिने सुझाव दिनुभयो ।

सन् २०२० देखि काठमाण्डाै र ललितपुर महानगरपालिकाभित्रका विभिन्न ठाउँमा स्वच्छ, महिला, अपाङ्ग तथा वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय बनाउन एरोसान सस्टेनेबल स्यानिटेसनले आर्थिक एवम् प्राविधिक सहयोग गर्दै आएको छ । एरोसानद्वारा निर्मित तथा सञ्चालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवर्द्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्वस्तरीय सरफाती सेनिटेसन प्रतियोगितामा उत्कृष्ट पाँचसम्म पुग्न सफल भएको थियो ।

वडाध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्य गर्दै आएको जानकारी दिँदै यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनर्निर्माण गरिएको बताउनुभयो ।

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाण्डाै महानगरपालिकामा चार र ललितपुर महानगरपालिकामा दुई अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ । यसबीचमा झन्डै पाँच लाख ९१ हजार दुई सय ६९ पुरुष र एक लाख ८० हजार पाँच सय ३६ महिला प्रयोगकर्तालाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको  एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिनुभयो । 

शौचालयबाट उत्सर्जित दिसापिसाबजन्य फोहर व्यवस्थापनका लागि बायो ग्यास प्रविधिको जडान गरी अहिलेसम्म ७० हजार ६ सय ९९ लिटर पिसाब र नौ हजार पाँच सय ७९ किलो दिसा व्यवस्थापन गरी ७०५ दशममलव २ लि. बायो ग्यास अर्थात् ४९ दशमलव ४ सिलिन्डर एलपीजी ग्यास उत्पादन गरिसकेको छ भने फोहर पानी प्रशोधन प्रणालीमार्फत तीन लाख ६० हजार लिटर फोहर पानी प्रशोधन र आकाशेपानी सङ्कलन प्रविधिको प्रयोगबाट २७ लाख ४० हजार एक सय ६० लिटर आकाशेपानीको सङ्कलन गरेर शौचालयमा प्रयोग गरिएको छ । 

एरोसानका कार्यकारी प्रमुख अमात्यले भन्नुभयो, ‘प्रशोधन गर्ने क्षमता भएको फोहर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ । मानव मलमूत्रलाई शौचालयमै व्यवस्थापन गरी बायो ग्यास उत्पादन गर्न १० घनमिटरको बायो ग्यास प्लान्ट शौचालय परिसरमै निर्माण गरी वातावरणमैत्री बनाउन अहम् भूमिका खेलेको छ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया