चस्मा पसलको नाम राखेर जुत्ता–चप्पल, बच्चाको कपडा पनि बेचेपछि 'सिल'

 साउन २५, २०७९ बुधबार १८:२७:२३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारीलगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको टोलीले आज बुधवार चस्मा पसलको नाम राखेर जुत्ता–चप्पल एवम् बच्चाको कपडा आदिसमेत बिक्री गरेको पाएसँगै सिल गरेको हो । 

ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भन्नुभयो, ‘नाम एउटा काम अर्को गर्ने भएसँगै कारबाही गरियो ।’ त्यो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ । 

यसैगरी अनुगमन टोलीले आजै पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि २० हजार रुपैयाँ जरिबाना गराएको छ । त्यो गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही, दुनोट र स्यान्डबिचमा उत्पादनका साथै सकिने म्यादसमेत उल्लेख नभएका कारण त्यो मूल्य बराबरको रकम तिराएको पन्तले सुनाउनुभयो ।  ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले सरकारले हिजो मङ्गलवार जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया