चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

 साउन ३१, २०७९ मंगलबार १४:४२:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ वटा अर्ना र विसं २०७४ मा सात वटा बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो । 

सोमवार तीन अर्नालाई बाघले खाएपछि निकुञ्ज अर्ना विहीन भएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । निकुञ्जले पानी छिर्ने ठाउँबाट बाघ पसेर ती अर्नालाई खाएको अनुमान गरेको छ । यसअघि पनि एउटा अर्नालाई बाघ पसेर खाएको थियो । तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ वटा अर्ना सबै मरेका हुन् । ती अर्ना मध्ये चार वटालाई बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएको थियो । 

संरक्षण आचार्यले अर्ना संरक्षणका लागि प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताउनुभयो । गएकाे आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको अवधिमा १० वटा अर्ना मरेका थिए । साउनदेखि मङ्सिर मसान्तसम्म ती अर्ना मरेका हुन् । ६ वटा भाले र चार वटा पोथी अर्ना मरेका थिए । बाँकी रहेका तीन वछा पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको सङ्ख्या शून्य भएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात वटा बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये दुई वटा पोथी ल्याउने बित्तिकै र अन्य चार वटा विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो । त्याे बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ । 

तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भालेसहित २५ व६ा बाह्रसिङ्गे ल्याउने योजना थियो । यहाँ ल्याएलगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्याउने काम रोकिएको थियो । निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुला खोर (इन्क्लोजर) निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो । चितवनबाट अर्ना लोप भएको झन्डै ५७ वर्षपछि विसं २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ वटा अर्ना निकुञ्जमा ल्याइएका थिए । अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो । विसं २०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए ।

अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । सन् १९६१ सम्म चितवनको घना जङ्गलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । निकुञ्ज स्थापना हुनुभन्दा झन्डै ११ वर्षअघि नै अर्ना यहाँका जङ्गलबाट लोप भएको संरक्षणकर्मी बताउँछन् । निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनाश हुनु, अर्नाको चोरी सिकार हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरूले कारण मान्दै आएका छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुन सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो । कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउनुहुन्छ । 

विसं २०७१ मा नै सरकारले पाँच भालेसहित २० वटा अर्ना निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो । अर्नाको सरदर आयु २५ वर्ष हुन्छ । यिनीहरूले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना तीन/चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजननयोग्य हुन्छ । यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुने गर्दछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया