भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर पनि राजनीति हुन्छ ? : अध्यक्ष ओली

 साउन ३१, २०७९ मंगलबार १६:५७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गर्नुभयो । 

आज मङ्गलवार काठमाण्डाैमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरूले राजनीति नगरेको उल्लेख गर्दै त्यसकाविरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिकाे नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार छ । म यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोड्छु भन्ने छ । यस्तो पोलिटिक्स गर्नुभयो भने पोलिटिक्स हुँदैन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमती, सालाहरू अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? अब गलत पोलिटिक्स गर्‍याे भने त्यो दृष्टान्त देखेपछि मान्छेले डट्टी पोलिटिक्छ भन्न थाल्छ । व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसीटिभी कर्‍यापकुरुप पारेर तार चुँडाएर आयो । अनि केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति ? अब यही देखेपछि अनि कतिपयले भन्छन्– आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन । यसका विरुद्ध तपाईँ, हामी उठ्नुपर्छ । पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनुपर्छ ।’

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरूले यसलाई मनाेरञ्जन गर्ने माध्यमको रूपमा लिएको टिप्पणीसमेत गर्नुभयो । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरूप्रति सङ्केत गर्दै उहाँले राजनीतिलाई उनीहरूले रमाइलो गर्ने माध्यमको रूपमा लिए पनि त्यस्तो नभएको बताउनुभयो । 

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरूको प्रशंसा पनि गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया