तानसेनको टुँडिखेल स्तरोन्नतिकाे काम अन्तिम चरणमा

 भदौ ३, २०७९ शुक्रबार १२:१७:५४ | रासस
unn.prixa.net

तस्बिर : रासस

पाल्पा - तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी ३ करोड ८२ लाख ९४ हजार रुपैयाँ बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो ।

टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले बताउनुभयो । ढिलासुस्ती भइरहेको कामलाई निरन्तर निगरानी तथा खबरदारी गरेसँगै टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्रामस्थल बनिसकेको श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, 'दुई वर्ष अगाडि नै सक्नुपर्ने काममा निरन्तर ताकेता गरेपछि अहिले दुबो रोपण कार्य सकिने क्रममा  छ, यसले तानसेनको थप सुन्दरता थप्नेछ ।' विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य सङ्घको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो । अहिले यहाँ ७४ मिटर चौडाइ र एक सय नौ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ । 

मैदानभित्र रोपिएको दुबो दुई महिनामा हरियो हुन्छ । त्यसलाई दुईपटक घाँस काटेपछि दुबो रोपेको कम्पनी तिलोत्तमा एग्रिकल्चर फार्मले निर्माण व्यवसायीलाई हस्तान्तण गर्नेछ । कम्तीमा आठपटक दुबोलाई मेसिनले काटेपछि टुँडिखेलमा खेल खेल्नका लागि तयार हुने बताइएको छ । आउँदाे फागुनदेखि खेलमैदान स्तरोन्नति भइ पूर्णरूपमा तयार हुने तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्की बताउनुहुन्छ । २०५० सालमा अघि यहाँ हुने गरेका राष्ट्रियस्तरका फुटबल प्रतियोगिता वीरेन्द्र शिल्ड, राष्ट्रियस्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट, कराते प्रतियोगितालगायत पुनः सञ्चालन गरिनेछ । यहाँको टुँडिखेल मैदान स्तरोन्नति कार्यले खेलप्रेमीमा उत्साह जागेको छ ।

पाल्पा सदरमुकाम तानसेन भित्रने नाकामा नै रहेको यस मैदानमा ठूला–ठूला कार्यक्रम, सभा, समारोह हुने गरेका छन् । खेलमैदानको छेउमा रहेको पाल्पाली करुवाका कारण पनि यहाँ जानेको आकर्षण उत्तिकै छ । यहाँ रहेको करुवा अवलोकन गर्दै टुँडिखेल विश्राम गरेर बस्ने थलोका रूपमा पनि लिइन्छ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया