व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण, सरोकारवाला भने बेखबर

 भदौ ३, २०७९ शुक्रबार १७:३८:२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको सदरमुकाम चैनपुरमा व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण गरिएको छ । झन्डै एक वर्ष लगाएर जयपृथ्वी नगरपालिका १० का समाजसेवी सन्तबहादुर सिंहले आफ्नै जग्गामा व्यक्तिगत लगानीमा ब्याडमिन्टनका लागि कभर्ड हल निर्माण गर्नुभएको हो । 

झन्डै २० लाख रुपैयाँमा बनेको कभर्ड हलको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा सिंहले भन्नुभयो, ‘जिल्लामा एउटा पनि राम्रो खेल मैदान छैन । ब्याडमिन्टन खेल्ने खेलाडीको सङ्ख्या बढ्दै गएको छ । कहिले पानी पर्दा र कहिले हावाहुरी चल्दा प्रतियोगिता नै नहुने भएका कारण ब्याडमिन्टन खेल्न कभर्ड हल बनाएको हुँ ।’ उहाँका बुबा शत्रुधन र ब्याडमिन्टनका राष्ट्रिय खेलाडी सागरराम जोशीले कभर्ड हल उद्घाटन गर्नुभएको हो । 

बझाङमा ब्याडमिन्टनका प्रशिक्षक नभए पनि राम्रा खेलाडी उत्पादन भइरहेका छन् । खेलाडी जोशीले भन्नुभयो, ‘यहाँ खेलकुदको नाममा न एउटा राम्रो मैदान छ न प्रशिक्षक नै छन् । सरोकारवाला निकाय बेखबर छ । जिल्ला खेलकुद समिति भए पनि यसतर्फ ध्यान जान सकेको छैन ।’ 

बझाङमा कुनै प्रतियोगिता गर्नुपर्यो भने विद्यालय नै बन्द गरेर खेल सञ्चालन गर्नुपर्ने अवस्था छ । विद्यालय बन्द गर्न नमिल्ने अवस्थामा स्थानीयवासीको जग्गा भाडा लिएर खेल सञ्चालन गर्नुपर्ने बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीले बताउनुभयो । ‘खेलमैदानको व्यवस्था गर्नका लागि प्रदेश, सङ्घमा पत्राचारदेखि यहाँका मन्त्रीहरूसँग भेटेर माग गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन । बजेट पनि मनोमानी ढङ्गले विनियोजन हुन्छ । सबैलाई पायक पर्ने ठाउँमा खेलमैदान व्यवस्था हुनुपर्छ’, उहाँले भन्नुभयो । 

बझाङ खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले खेलकुद क्षेत्रमा राम्रो गर्ने चाहना हुँदाहुँदै पनि प्रदेश र सङ्घ सरकारमा भएका मन्त्रीहरूले वास्ता नगरेको बताउनुभयो । कार्यालय व्यवस्थापनका लागि समेत प्रदेश सरकारले रकम विनियोजन गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । जिल्ला खेलकुद समिति नाम मात्रैको भएको उहाँले बताउनुभयो । मन्त्रीहरूले आश्वासन मात्रै दिने गरेको अध्यक्ष रोकायाले बताउनुभयो । 

जिल्लामा खेलमैदानको आवश्यक भए पनि सरोकारवाला निकायको ध्यान नगएका कारण समस्या ज्युँका त्युँ छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया