नेकपा एसले नैतिक आचरण राम्राे भएकाे, जनतामा लाेकप्रियलाई उम्मेदवार बनाउने

 भदौ ३, २०७९ शुक्रबार १७:२७:२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाे – नेकपा (एकीकृत समाजवादी) ले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवम् छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले निर्धारित समयमा गरेको सिफारिसलाई सम्बन्धित जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने छ । पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार ती सिफारिस भएका नामलाई प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने र केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको अन्तिम निर्णय गरिने छ । केन्द्रले उम्मेदवार छनोटका लागि औपचारिक तथा अनौपचारिक रूपमा प्रक्रिया सुरु गरिसकेको छ ।

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाइने छ । पार्टी सङ्गठन निर्माणमा सक्रिय भूमिका खेलेका र योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवम् नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवम् लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको तथा सक्रिय र समावेशीताको सिद्धान्तअनुसार उम्मेदवार छनोट गरिने छ ।

प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चार जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्न गृहकार्य भइरहेको छ । जिल्ला कमिटीले ती चार जनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेश कमिटीले ती तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउन तथा केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइ आएका तीन जनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फकाे उम्मेदवार बनाउन निर्णय गर्ने पार्टी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिनुभयो । 

प्रदेश सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले नाम सिफारिस गर्ने छ । उहाँका अनुसार पार्टी सङ्गठनमा योग्य र सक्षम नेता भए पनि पार्टी गठबन्धनमा आबद्ध रहेकाले त्यसको भावनाअनुसार फरक/फरक भूगोलमा उम्मेदवार छनोट गर्नुपर्ने छ ।
  
एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ । यदि कुनै जिल्लामा निर्वाचन क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र त्याे कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्न परिपत्र गरेको छ ।

विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्नसक्ने छन् । केद्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइ आएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्दसूची तयार गर्ने छ । उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट पनि टुङ्गो लगाउने नीति छ । कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्ने छ ।
    
पार्टीका जनवर्गीय सङ्गठनले विभिन्न रचनात्मक कार्य गरी देशभर पार्टीका पक्षमा  जनमत सिर्जना गर्न चुनावी अभियान सुरु गरी प्रचारसमेत थालेको छ । उम्मेदवार छनोट भएपछि घरदैलोलगायत प्रचारप्रसार कार्य गरिने छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया