प्रदीप गिरि : कम्युनिस्टलाई मार्क्सवाद पढाउने गुरु

 भदौ ५, २०७९ आइतबार १६:२७:६ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राजनीतिकरूपमा नेपाली कांग्रेसको छत्रछायामा रहनुभयो तर जीवनभर उहाँ मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरि ।  

आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरिले सधैँ यसमा जोड दिँदै आउनुभयो । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उहाँको । 

वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उहाँलाई धेरैले आफ्ना गुरुका रूपमा मानेको तथ्य कार्ल मार्क्सकाे द्विशतवार्षिकका अवसरमा आयोजित कार्यक्रममा गिरिलाई प्रमुख प्रशिक्षकका रूपमा गरिएको निमन्त्रणाबाट पनि केही खुल्थ्यो । सन् २०१८ मा मार्क्सवादी अध्ययन समूहले त उहाँलाई सल्लाहकार नै राखेको थियो । 

यस आधारमा स्वर्गीय गिरि मार्क्सवादी अध्येताका रूपमा स्थापित हुनुहुन्थ्यो । उहाँको जीवनभरको विचार समूह नेपाली कांग्रेस थियो । तर गिरि काल मार्क्स र भीआई लेनिनको बौद्धिकताप्रति कम्युनिस्टभन्दा बढी काबिल हुनुहुन्थ्यो । नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्र कार्कीको विचारमा खास अर्थमा गिरि मार्क्सवादी हुनुहुन्थ्यो । 

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई राजनीतिक मुद्दा भएको र त्यही आधारमा समाधानका लागि पहल गर्नुपर्ने धारणा राख्ने देशका थोरै नेतामध्ये एक हुनुहुन्थ्यो उहाँ । जुनसुकै मञ्चमा पनि गिरिले वामपन्थ र मार्क्सवादी आन्दोलनको सकारात्मक पक्षकाबारेमा धारणा राख्दै आउनुभएको थियो । 

उहाँले आफूहरूको आन्दोलनलाई राजनीतिक विषय हो, यो आतङ्ककारी क्रियाकलाप होइन भनेर स्थापित गराउन उत्प्रेरित गर्ने काममा विशेष योगदान गर्नुभएको नेता कार्कीको भनाइ छ । दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरिले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्र देखाएको टिप्पणी गर्दै नेता कार्कीले भन्नुभयो, ‘गिरीमा भौतिक सुख भोगभन्दा बढी ज्ञानको भोक थियो ।’

दिवङ्गत नेता गिरिको सबैभन्दा अनुकरणीय विषय भनेकै उहाँ कोही कसैप्रति अन्धभक्त हुनुहुँदैनथ्यो । उहाँले कैयौँ सार्वजनिक कार्यक्रममा समेत याे कुरा स्पष्टरूपमा बताउनुभएको थियो । गिरिमा पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन तथा आध्यात्मिक सोचबारे सरल भाषामा सबैले बुझिने गरी बताउनसक्ने क्षमता थियो । 

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  गिरिलाई समाजवादी चिन्तनका रूपमा लिनुभएको छ । सानेपामा रहेकाे नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरिको पार्थिव शरीरमा माल्यापर्णका क्रममा समेत अध्यक्ष दाहालले गिरिले समाज रूपान्तरणका लागि ठूलो योगदान पुर्‍याउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरि राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।’

देशलाई रूपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोणका साथ सधैँ आफूलाई उभ्याउँदै आउनुभएका गिरिको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको अध्यक्ष दाहालको भनाइ छ । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालका शब्दमा नेता गिरिले आफ्नै पार्टीका साथै नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) का विरुद्ध पनि चर्को आलोचना गर्नुहुन्थ्यो, असहमति राख्नुहुन्थ्यो । ‘विभिन्न विषयमा आफ्ना असहमति राखे पनि आफ्नै दलका पक्षमा उहाँले मत राख्नुभएको छ । त्यस आधारमा उहाँ सिद्धान्तभन्दा बाहिर हुनुहुन्थ्यो भन्ने लाग्दैन’, सांसद सुवालले भन्नुभयो । 

गिरिले सोभियत सङ्घका तत्कालीन नेता लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका पुस्तकसमेत लेख्नुभएको छ । यस्तै उहाँले ‘विश्वेश्वरप्रसाद कोइरालाका आधारभूत सङ्कलन’ नामक पुस्तकको सम्पादन गर्नुभएको छ । 

विसं २०७६ पुसमा राजधानीमा ‘मार्क्स फर्किए...’ नामक नाटक मञ्चन भएको थियो । त्याे नाटकको प्रदर्शनसँगै कांग्रेसका नेता गिरिलाई नाटकमाथि टिप्पणी गर्न आमन्त्रण गरिएको थियो । त्यस बेला उहाँले गर्नुभएको टिप्पणी थियो, ‘संसारमा जबसम्म असमानता छ, तबसम्म मार्क्स जीवित रहन्छन् । संसारमा जबसम्म बर्बता छ, तबसम्म मार्क्स जीवित रहन्छन् । आज मार्क्स मरे भन्ने मान्छेले सुन्नुभएको छ भने मरेका मार्क्स आज जीवित मार्क्सभन्दा सय गुना सशक्त भएर आएका छन् । सावधान रहनुहोस् ।’ 

लेखक चैतन्य मिश्रको पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ को विमोचन गर्दै २०७६ भदौ १४ गते आयोजित समारोहमा गिरिले व्यक्त गर्नुभएको धारणाले मार्क्सवादप्रति उहाँको लगाव कत्ति थियो भन्ने बुझ्न सकिन्छ । 

उहाँले मार्क्सवाद मानवताको दृष्टिकोणले उच्च रहेको छ । पुँजीवादले हार्दै गएको उल्लेख गर्दै उहाँले सन् १९१७ देखि क्युबाको क्रान्ति सन् १९५९ को समयसम्म पुँजीवादले हार्दै गएको बताउनुभयो । उहाँले मार्क्स र लेनिनले भनेका कुरा अहिलेका सन्दर्भमा किन लागू भएन भन्नेबारेमा जवाफ खोज्नुपर्ने बताउनुभएको थियो । 

सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरिले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । बनारसमा अध्ययन गर्दा छात्र सङ्घको चुनाव लड्ने क्रममा नै उहाँले बीपीको सानिध्य पाउनुभएको थियो । सङ्घर्षले नै मानिसलाई स्पात बनाउँछ भन्ने धारणा राख्नुहुने गिरि आफैँमा बौद्धिक एवम् मार्क्सवादी व्यक्तित्व हुनुहुन्थ्यो । 

वामपन्थी लेखक एवम् विश्लेषक झलक सुवेदीका विचारमा धेरै कम्युनिस्त नेताको तुलनामा गिरिको मार्क्सवादप्रति राम्रो दख्खल थियो । उहाँले मानव स्वतन्त्रताका बारेमा अध्ययन गर्नुभएको थियो । लोभ, लालच नभएको र निरन्तर विद्रोह गर्ने स्वभाव भएकाले पनि उहाँलाई मार्क्सवादीका रूपमा लिन सकिने विश्लेषक सुवेदीको तर्क छ । 
    
चिनियाँ नेता माओ त्से तुङका बारेमा धेरै चासो नराखे पनि मार्क्स र लेनिनबारे राम्रो दख्खल राख्ने विचारकका रूपमा उहाँ स्थापित हुनुहुन्थ्यो । लेनिनबारे नेपाली समाजले बुझ्ने गरी पुस्तक लेख्ने लेखकका रूपमा समेत उहाँ स्थापित हुनुहुन्छ । 

लेखक सुवेदीका अनुसार उहाँ साम्यवादी बाटोमा हुनुहुँदैनथ्यो तर समाजवादी विचारमा प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँ विचारमा मार्क्स र रोजाबाट तथा जीवन व्यवहार भने लोहिया र जयप्रकाशबाट प्रभावित हुनुहुन्थ्यो । सुवेदीले भन्नुभयो, ‘उहाँ भौतिवाद र मार्क्सवादबाट प्रभावित हुँदाहुँदै पनि पनि जीवनशैली पूर्वीय दर्शनबाट प्रभावित थियो । उहाँ दैनिक जीवनमा आइपर्ने सानातिना धक्काबाट प्रभावित नहुने, विशिष्ट खालको अध्यात्मिक उचाइ प्राप्त गरेको व्यक्तित्व हुनुहुन्थ्यो ।’ 

निरन्तर विद्रोही एवम् आलोचक तथा यथास्थितिवादका कारण समाजमा देखिएका  विभेदका विरुद्ध उहाँले निरन्तर खबरदारी गरिहनुभयो । अग्रगमन तर्फबाट जान रोक्ने, विचार, संस्था र चिन्तनका विरुद्ध उभिने र प्रश्न उठाउने र बहस गरी राख्ने स्वभाव थियो नेता गिरिको । 

युवालाई निरन्तर क्रान्तिकाप्रति उभिन, दलित, महिला, आदिवासी, मधेसीलाई अधिकार प्राप्तिका लागि प्रेरित गर्ने काम पनि उहाँले गर्नुभएको थियो । आफ्नै पार्टी कांग्रेस र अरू पार्टीको परम्परावादी राजनीतिक दृष्टिकोण तथा यथास्थितीवादविरुद्ध उभिने एक खालको साहस विचारक गिरिमा रहेको लेखक सुवेदी स्मरण गर्नुहुन्छ । नेपालको संविधानमा पनि हस्ताक्षर नगरेर उहाँले यो संविधानले नेपाली समाजको प्रतिबिम्व उतार गरेन भनेर अन्तिम समयसम्म पनि लडिरहनुभयो, उहाँले भन्नुभयो ।  

गिरि मार्क्सवादी आँखाबाट हेर्दा साम्यवादप्रति भरोसा नराख्ने र त्यसमा पुग्नुभन्दा अगाडिको मार्क्सवादलाई ग्रहण गर्ने व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो । युवा अवस्थामा जेल बसेका बेला लेनिन र रोजाका बारेमा पढेर उहाँको जीवनी र शिक्षाका बारेमा सानो पुस्तिका तयार पार्नुभयो । उहाँले ‘राज्य र क्रान्ति’ का बारेमा टिप्पणी गर्नुभएको छ । कतिपय कुरामा उहाँका असहमति छन् तर धेरै कुरामा सहमति छन् । 

नेपालमा लेनिनका बारेमा त्यसरी राम्ररी लेखेको किताब आफूले पढ्न नपाएको लेखक सुवेदी बताउनुहुन्छ । मार्क्सका बारेमा पनि उहाँले लगातार चार वटा आलेख लेख्नुभएको थियो । वामपन्थी पार्टी एवम् समूहले समेत उहाँलाई मार्क्सवाद पढाउन पटक–पटक बोलाउने गरेका थिए । यसरी नेपाली कांग्रेसका नेताभन्दा बाहिर निस्किएर उहाँको चिन्तन मार्क्सवादीहरूको भन्दा अब्बल थियो । त्यसैले उहाँलाई मार्क्सवाद पढाउने गुरुभन्दा फरक पर्दैन । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया