अनधिकृत संरचना भत्काउने अभियानलाई महानगरले निरन्तरता दिने, क्षतिपूर्ति सम्बन्धित धनीबाटै लिनुपर्ने मेयर शाहको भनाइ

 भदौ ९, २०७९ बिहीबार ७:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाले आज काठमाण्डौको कोटेश्वरमा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ ।

कोटेश्वरमा हिजो पुगेको महानगरको टोलीले सम्झाइ बुझाइ गरेर आजदेखि हटाउने जानकारी गराएको छ । गएको सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले हिजो न्युरोडको काठमाण्डौ मल, आर बी कम्प्लेक्सलगायतमा बनेका अनधिकृत संरचना हटाएको थियो । यसअघि नै ३५ दिने सूचना निकालेको महानगरले अटेरी गरेपछि भत्काउने अभियान थालेको हो ।

महानगरपालिकाले ३५ दिने सूचना निकालिसकेको र जुनसुकै बेला अनधिकृत संरचनाहरू हटाउन सक्ने भन्दै नियम पालना गर्न सबैलाई आग्रह पनि गरेको छ । महानगरले डोजर लगाएर संरचना भत्काएपछि भाडामा पसल राखेका व्यापारीहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गरेका छन् ।

मेयर शाहले भने महानगरले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु नगरेको र क्षतिपूर्ति सम्बन्धित धनीबाटै लिनुपर्ने बताउनुभएको छ । आफूहरुले यसअघि बोलाएको छलफल र सरसल्लाहमा कोही पनि सम्पर्कमा नआएको पनि उहाँको भनाइ छ । अबका दिनमा  अनधिकृत संरचनाहरु नबनाउन र बनाएका त्यस्ता संरचनाहरु आफैँले भत्काउन पनि उहाँको अनुरोध छ ।

यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने काम नगर्न पनि मेयर शाहले आग्रह गर्नुभएको छ । यस्तै काठमाण्डौ महानगरपालिकाले जिल्ला अदालत काठमाण्डौलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र समेत लेखेको छ ।

महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो । 

तस्बिर : मेयर शाहकाे फेसबुक

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया