प्रतिनिधि सभाबाट हुबहु पारित भएको नागरिकता विधेयकबारे राष्ट्रपति परामर्शमा व्यस्त

 भदौ ९, २०७९ बिहीबार ७:४७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको विषयमा नागरिक समाजका अगुवा, कानुनविद् तथा सुरक्षा निकायका उच्च पदाधिकारीसँगको छलफललाई तीव्रता दिनुभएको छ ।

आफूले दिएको सुझावलाई बेवास्ता गरेर प्रतिनिधि सभाले हुबहु विधेयक पुनः पारित गरेपछि उहाँले केही दिनदेखि आवश्यक राय सुझाव लिइरहनुभएको छ । यसै क्रममा हिजो राष्ट्रपति भण्डारीले नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

छलफलका क्रममा सेनाका पूर्व जर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए । यसअघि राष्ट्रपति भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो । तर गएको २ गते प्रतिनिधि सभाको बहुमतबाट  विधेयक जस्ताको त्यस्तै स्वीकृत भइसकेको छ । प्रतिनिधि सभाबाट पुनः पारित भएको विधेयक राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभामा पनि सत्तारूढ गठबन्धनकै बहुमत छ ।

राष्ट्रिय सभा बैठक आउँदो १२ गते बोलाइएको छ तर विधेयक कहिले पारित हुन्छ भन्ने निश्चित छैन । संविधानअनुसार संसदबाट दोस्रोपटक पारित भइ आएको विधेयक प्रमाणीकरण गर्नेबाहेकको अधिकार राष्ट्रपतिसँग छैन ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर राजीनामा दिनुहुन्छ भन्ने हल्ला पनि चल्न थालेको छ । तर हिजो सैनिक उच्च पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपतिले आफूले राजीनामा नदिने र कानुनी विकल्पहरु खोज्ने स्पष्ट पार्नुभएको छ । छलफलमा सहभागी पूर्व सैनिक अधिकारीहरुले पनि राष्ट्रपतिलाई परिस्थितिको सामना गरेर अघि बढ्न, तर राजीनामा नदिन सुझाव दिएका थिए ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया