सेनालाई प्रधानमन्त्रीकाे निर्देशन– जनताकाे विश्वास र भरोसा कायम राख्नू

 भदौ ९, २०७९ बिहीबार २०:२६:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

जङ्गी अड्डामा आज बिहीवारदेखि सुरु 'कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीको इमानदारी र कर्तव्यपरायणबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्मरण पनि गर्नुभयो ।

उहाँले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्न, राष्ट्रिय सुरक्षामा दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न तथा सुरक्षासम्बन्धी नीति निर्माण तहमा समान बुझाइ विकास गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना मित्रराष्ट्रसँगको सन्तुलित सम्बन्धलगायत छिमेकी राष्ट्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनै पनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको जानकारी गराउनुभयो ।

प्रधानसेनापति शर्माले सरकारको उच्चतम प्राथमिकतामा रहेको काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग सडक आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनामा सम्बन्धित निकायको समन्वयमा स्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराउनुभयो । 

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै प्रकारका गतिविधिका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सिर्जना हुन सक्ने राष्ट्रिय सुरक्षा चुनौतीलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा र प्रधानसेनापति शर्माबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसमेत भएको थियो । दुई दिने बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवम् सुझावसहितको प्रस्तुतीकरण रहने कार्यक्रम छ ।

याे बैठकको निष्कर्ष र सुझावले आउँदा दिनमा नेपाली सेनाको नीति तथा योजना निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया