मुगुका किसानलाई स्याउ टिप्न चटारो, टिपेर राख्न कार्टुनसमेतकाे अभाव

 भदौ ११, २०७९ शनिबार १७:३९:२६ | रासस
unn.prixa.net

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।

यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । जिल्लाको बाम, ताल्चा, रोवा, शोभा, खमाले सेरीलगायत क्षेत्र स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका किसान स्याउ टिपेर आर्थिक उपार्जनमा लागेका छन् ।

भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै व्यस्त रहन्छन् । “हाम्रो आम्दानीको श्रोत नै यही हो”, छायाँनाथ रारा–५ ताल्चाकी विस्नमाया रोकायाले भन्नुभयो । यो समय स्याउ टिप्नका लागि उपयुक्त नभएको उहाँको भनाइ छ । “भदौ अन्तिम सातामा टिप्नलाई उचित हुन्छ ।”

समय अघि नै किसान स्याउ टिप्न थालेका छन् । “ढिला टिपे कुहिन्छ की भन्ने चिन्ता छ”, छायाँनाथ रारा–५ कै हरिबहादुर भामले भन्नुभयो, “बिक्री नहुने हो की चिन्ता छ ।” धमाधम स्याउ टिपेर किसानले बगैंचा खाली गर्न थालेका छन् । किसानलाई स्याउ भण्डारण गर्न समस्या छ । “उचित ठाउँ अभावले स्याउ कुहिले डर छ”, उहाँले भन्नुभयो । 

स्याउ खरिद गर्न स्थानीय व्यापारी बगैँचामै आएका छन् । व्यापारी आएका कारण पनि किसानले काचै स्याउ बेच्न हतार गरिरहेको देखिन्छ । “पछि व्यापारी  भेटिन्न की भन्ने समस्या छ”, भामले भन्नुभयो । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ३० मा स्याउ किन्ने गरेका छन् । उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले हतार हतारमा बिक्रि गर्न लागेको उहाँ बताउनुहुन्छ । 

स्याउ किसान सूर्यप्रकाश भामका अनुसार राख्नलाई कार्टुनसमेत अभाव भएको छ । “स्याउ टिप्न डोकाको प्रयोग गर्ने गरेका छौँ, राख्नलाई केही छैन ।  बजारीकरणको समस्या पनि उत्तिकै छ”, उहाँले भन्नुभयो । यस वर्ष आफूले उत्पादन गरेको स्याउ नेपालगञ्ज, सुर्खेतलगायत ठाउँ लगेर आफै बिक्री गर्ने योजना रहेको भामको भनाइ छ । सकभर स्थानीय व्यापारीलाई बिक्री नगर्ने उहाँ बताउनुहुन्छ । 

छायाँनाथ रारा–५ मा स्याउ उत्पादन अत्याधिक छ । स्याउ टिपरे गोठमा राख्ने गरिएको छ । स्याउ उत्पादन प्रशस्त भए पनि सडक सुविधा नहुँदा स्याउ बिक्री गर्न किसानलाई समस्या भएको छ । यस वर्ष गत वर्षको भन्दा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालका निमित्त कार्यालय प्रमुख दुर्गबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष जिल्लामा गएकाे वर्षभन्दा ५ देखि १० प्रतिशतले स्याउ उत्पादनमा वृछि हुने अनुमान गरिएको शाहीले बताउनुभयो । मुगुमा विशेष गरी रोयल डेलिसेस्, रेटडेलिसेस र गोल्डेन डेलिसेस स्याउ उत्पादन हुने गरेको छ ।

रामदेवी खड्का/रासस

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया