चितुवाको मुखबाट उम्किएका बालकको शल्यक्रिया सफल

 भदौ १२, २०७९ आइतबार १६:३१:४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

तनहुँ – चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका  बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका १ का तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मीले  बचाउनुभएको थियो ।

गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । बालकको थप उपचारका लागि पत्रकार सुवास पण्डितले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका अनुसार तत्काल कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको हो । उहाँले भन्नुभयो, ‘हामीले चितवन मेडिकल कलेजका जिम्मेवार व्यक्तिलाई फोन गरेर बालकको उपचारमा सहयोग गर्न आग्रह गरेका थियौँ ।’ 

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बालकको शल्यक्रिया सफल भएपछि अहिले अवस्था सुधार हुँदै गएको जानकारी दिनुभयो । बालकको घाँटीमा गम्भीर चोट लागेको थियो । ‘श्वासनली र रगत बग्ने मुख्य नसामा क्षति हुन नपाएका कारण बालकलाई बचाउन सकिएको हो’, उहाँले भन्नुभयो, ‘चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुखजस्ता महत्त्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको रहेछ, श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नसामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको हो ।’ 

अस्पतालमा कार्यरत चिकित्सकहरू सुरेशराज शर्मा,  सुमित अधिकारी र नवीनकृष्ण यादव शल्यक्रियामा संलग्न हुनुहुन्थ्यो । उहाँहरूका अनुसार बालकको घाँटीमा मल्टिपलपन्चर (ठाउँ–ठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो । देब्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ ।

बालकका बाबु सुवास परियारले शल्यक्रिया सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँका अनुसार गएको बुधवार बेलुकी साढे ५ बजेको समयमा आँगनमा खेलिरहेका सुलभलाई चितुवाले लगेको थियो । घरभित्र र पिँढीमा घरका अन्य सदस्य भइरहेको समयमा चितुवाले लगेको उहाँको भनाइ छ ।

चितुवाले ५० मिटर माथिसम्म पुर्‍याएको थियो । आमालगायतका परिवारका सदस्यले हारगुहार गरेपछि चितुवा बालकलाई छाडेर भागेको सुवासले बताउनुभयो । अस्पतालले बालकको निःशुल्क शल्यक्रिया गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार औषधिलगायत अन्य लागत शुल्कमात्रै लिइएको छ । बच्चालाई सघन उपचार कक्षबाट साधारण कक्षमा सारिएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया